भगवान् महावीरको २६१८ औँ जयन्ती मनाइयो
काठमाडौँ, ४ वैशाख : अहिंसाका अग्रदूत, अनेकान्त सिद्धान्तका प्रवर्तक एवं जैन धर्मका २४ औँ तीर्थङ्कर श्रमण भगवान् महावीर स्वामीको २६१८ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो ।
जैन समुदायको प्रतिनिधिमूलक संस्था नेपाल जैनपरिषद्को आयोजनामा अहिंसावादी सङ्घ संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल सबै धर्म, संस्कृति र सम्प्रदायका व्यक्तिको साझा फूलबारी भएको बताउनुभयो । नेपाल धर्म निरपेक्ष देश भए पनि सनातनदेखि चलिआएका सबै धर्म र संस्कारको संरक्षण गर्ने दायित्व राज्यले निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले महावीरको योगदानलाई सबै समुदायले उत्तिकै महत्व दिएको बताउनुभयो । कार्यक्रममा आचार्य महाश्रमणकी शिष्या समणी निर्देशिका सन्मतिप्रज्ञा, नेपाल जैन परिषद्का अध्यक्ष फूलकुमार लालवानी, साध्वी शिला दिदीलगायतले महावीर जैनले मानव समुदायलाई दिनुभएको योगदानका विषयमा चर्चा गर्नुभयो ।
प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल, भारत र दक्षिण एशियाका अन्यमुलुकलगायत विश्वभरि नै छरिएर रहेका जैन धर्माबलम्बीले भव्यरुपमा महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ओमकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक जयन्ती मनाउने गरिएको छ । यसअघि आज बिहानै प्रभातफेरीसमेत आयोजना गरिएको थियो ।
यसै वर्ष नेपाल जैनपरिषद्ले स्थापनाको स्वर्ण महोत्सव पनि मनाएको छ । परिषद्ले भगवान् महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह र अनेकान्त (एउटै विचारमा मात्र सत्यता हुँदैन) आदि जीवन्त उपदेशको प्रचारप्रसार, संवद्र्धन र प्रवद्र्धनका लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै आएको जनाइएको छ ।
शान्तिको स्थापना, सङ्कट र विपत्तिबाट जोगिने र शान्तिसाथ जीवन बाँचौं, धर्म सार्वभौम हो, धर्मले जन समुदायको विकासमा आस्था राख्दछ, सबै मानिस समान हुन्, मानव जाति एक हौँ, न कुनै ठूलो, न कुनै सानो, जनता जनार्दन, जनता भगवान् भन्नेलगायत सिद्धान्त भगवान् महावीरको रहेको परिषद्ले जनाएको छ ।
भगवान् महावीर र जैन धर्मको नेपालसँग गहिरो सम्बन्ध रहेको, उहाँको विचरण क्षेत्र नेपालको तराई, भारतको चम्पारण, मगध आदि क्षेत्रमा भएको पनि आज आयोजित कार्यक्रममा जानकारी गराइयो ।
भगवान् महावीरभन्दा कैयौं शताब्दी पूर्व जन्मिनुभएका जैन धर्मका १९औं तीर्थंकर मल्लिनाथ तथा २१ औं तीर्थंकर नमिनाथको जन्मभूमि नेपालको जनकपुर (मिथिलापुरी) भएको कुरा जैन वाङ्मय (आगम) बाट प्रमाणित भएको छ ।
जैन धर्मका २४ंऔं तीर्थंकर श्रमण भगवान् महावीर स्वामीको परम्पराका आचार्य श्री भद्रबाहु स्वामीले नेपालको हिमालयका गुफामा १२ वर्षसम्म साधना गरेको प्रामाणिक उल्लेख पनि इतिहासमा पाइन्छ ।
कठोर साधनाबाट उहाँलाई प्राप्त महाज्ञान हासिल गर्न भारतबाट ५०० जैन साधु नेपाल आएका थिए । सोही ज्ञानलाई ५०० जैन साधुले श्री भद्रबाहु स्वामीबाट सिकेर लिपिबद्ध गरे । अहिले उपलब्ध जैन शास्त्र (आगम) तिनै लिपिबद्ध गरिएको नै भएको जनाइएको छ ।
