प्रदेशसभाद्वारा चार विधेयक पारित

रुपन्देही, २७ चैत : प्रदेश नं ५ को प्रदेशसभाले आज चार विधेयक पारित गरेको छ ।

प्रदेशसभाको बुटवलमा बसेको बैठकमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गर्नुभएको प्रदेश नं ५ मल व्यवस्थापन, पशु स्वास्थ्य तथा पशुसेवा र प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।

प्रदेशसभाले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित गरेको छ ।

बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

लोकसेवा आयोगको मापदण्ड सङ्घीय कानूनअनुसार हुने भनी उल्लेख भएकाले सङ्घीय कानून नबनेका कारण विधेयक विचाराधीन अवस्थामा रहेकाले मन्त्रिपरिषद् कार्यालयले फिर्ता लिने पत्राचार गरेपछि सभापति शर्माले सभामा विधेयक प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ताको प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले सभामा निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक प्रदेशसभाबाट फिर्ता लिने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

आजको बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति शर्माले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा बनेको विधेयक र सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रस्तुत गर्नुभएको प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग, पर्यटन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.