‘दक्ष जनशक्तिबाट मात्रै समृद्धि आउँछ’

काठमाडौँ, २६ चैत : रोजगारदाता र श्रमिकबीचको असल सम्बन्धसहितको दक्ष जनशक्तिबाट मात्र मुलुकमा समृद्धिको बाटो पहिल्याउन सकिने भएकाले त्यसतर्फ सम्बन्धित सबैको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।

नेपालमा प्रभावकारी दक्ष जनशक्ति प्रवद्र्धन र विकास तथा व्यावसायिक तालीम प्रणालीका लागि सामाजिक साझेदारसँगको सहकार्यलाई सबल बनाउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा सहभागी मजदुर नेताले पूँजी निर्माणमा सहयोग गर्ने मजदूरलाई सक्षम र दक्ष बनाएर रोजगारीका अवसरलाई सदुपयोग गर्न सकिने बताएका हुन् ।

जनशक्ति इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसन–नेपाल एम्फीलियट काउन्सिल(आइटियुसी–नाक)को अगुवाइमा भएको अन्तक्र्रियामा शिक्षालाई सीपसँग जोडेर देशभित्र सिर्जित रोजगारीका अवसरमा नेपालीलाई समावेश गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा उनीहरुको जोड थियो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले मजदूर आन्दोलन समृद्ध भएमात्र मुलुक समृद्ध बन्ने भएकाले अबको आन्दोलनलाई शिक्षा र दक्षतासँग जोडेर अगाडि बढाइने बताउनुभयो । उहाँले अबको मजदूर आन्दोलन ‘जिन्दावाद’ र ‘मुर्दावाद’ तथा न्यूनतम बेतनमा भन्दा पनि उत्पादनका आधारमा ज्याला भन्नेतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष गणेश रेग्मीले सरकार, व्यवसायी र समाजको विकाससँग जोडेर मजदूर अन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई लागू गरेर रोजगारीका अवसरलाई सदुपयोग गरिनुपर्ने बताउनुभयो ।

जनशक्ति इन्टरनेसनल ट्रेड युनियन कन्फेडेरेसन–नेपाल एम्फीलियट काउन्सिल(आइटियुसी–एनएसी)का पुस्कर आचार्यले दक्ष जनशक्ति उत्पादनमा ट्रेड युनियनका संस्थाले पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उचित पारिश्रमिकका लागि दक्षता र त्यसका लागि सीप तथा प्रमाणीकरण आवश्यक हुने बताउनुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले दक्षता र क्षमताअनुसारको श्रमिक बजारमा आए मात्र वैदेशिक नेपाली श्रमलाई रोक्न सकिने भएकाले त्यसतर्फ ट्रेड युनियनले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा डेनिस इप्लोयर्स एशोसियसन फर इन्ड्रस्ट्रियल एन्ड कन्सट्रक्सन इन्टरप्राइजका अध्यक्ष ल्फेमिङ फ्रेडेरिक्सनले डेनमार्कमा रोजगारदाता र श्रमिकबीच हुने सम्बन्धका बारेमा उल्लेख गर्नुभयो । उहाँले श्रम बजारमा सरकारको भूमिका कम हुने तर श्रम अदालतले विवादलाई सल्टाउने भएकाले पछिल्लो समयमा श्रम बजार सौहार्द रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, आइटियुसी–एनएसीका सल्लाहकार सदस्य विदुर कार्कीलगातले व्यावसायिक तालीम तथा दक्षता विकाससम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुले आवश्यकताका आधारमा व्यावसायिक तालीम तथा शैक्षिक प्रणालीलाई पनि देशको आवश्यकताअनुसार अगाडि बढाउन सरकार, रोजगारदाता र मजदूर सङ्घसंस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.