पाँच तारा सहकारीको वार्षिकोत्सवमा १४६ जनाद्वारा रक्तदान
सम्राट पाठक । काठमाडौं, चैत २० : पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले वृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाले आफ्नो एघारौं वार्षिकोत्सव तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुनको) संयोजनमा भएको रक्तदान कार्यक्रम १४६ जनाले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमका प्रमुुख अतिथि व्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)का केन्द्रिय अध्यक्ष सानु प्रजापतिले रगतको विकल्पमा अन्य कुनै तत्व नभएकाले रगतको श्रोत मानव नै रहेको बताउनुभयो । वैज्ञानिकहरुले पनि रगतको विकल्पमा अहिलेसम्म कुनै तत्व पत्ता नलगाएकाले यसको पूर्ति मानिसले नै गर्नु पर्ने भएकाले सबैजनालाई हरेक तीन तीन महिनामा रक्तदान गर्न उहाँले अपिल समेत गर्नुभयोे ।
विगत ३ दशकदेखि ब्लोदानले रक्तदानका लागि आव्हान गर्दै हिँडेको र रगतको अभावले बिरामीको अकालमा ज्यान नजावोस भन्ने मूल उद्देश्य रहेकोले हरेक सहकारीसँग सहकार्य गरेर अगाडि बढ्ने योजना अनुरुप हरेक बुधबार काठमाण्डौमा रक्तदानको आयोजना गर्ने पनि जानकारी दिनुभयो ।
सहकारी संस्थाले स्थापनाकालदेखी नै हरेक बर्ष चैत्र २० गते आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेर मानवीय कार्यका सहयोग पुयाउँदै आएको छ ।
