सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने

काठमाडौँ, १९ चैत : संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकपछि समितिका सभापति लक्ष्मणलाल कर्णले थपलिया र ओझाको संसदीय सुनुवाइका लागि बुधबार सार्वजनिक सूचना जारी गरिने र १० दिनसम्म उजुरीका लागि समय दिइने बताउनुभयो ।

समितिले संसदीय सुनुवाइ अगाडि प्रस्तावित व्यक्तिका विषयमा उजुरीका लागि समय दिने गरेको छ । संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिश गरेको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाईबाट नाम अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई बाहिर राखेर गरिएको निर्णयप्रति आपत्ति जनाउँदै बैठक बस्नु अगाडि नै लिखित रुपमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद योगेश भट्टराई र पार्वत गुरुङले संवैधानिक परिषद्को विषय समितिमा उठाउनु उचित नभएको उल्लेख गर्दै समितिको काम कारवाहीलाई सहमतिबाटै वैधानिक रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.