‘निक साइमन्स पुरस्कार’ अनमी धिताललाई
काठमाडौँ, ११ चैत : स्वास्थ्य संस्थामा सुत्केरी गराउन अतुलनीय योगदान दिँदै समग्र स्वास्थ्य सेवा सुधारमा अग्रणी नेतृत्व प्रदान गरेवापत अनमी मीरा धितालले सन् २०१८ को ‘निक साइमन्स पुरस्कार’ प्राप्त गर्नुभएको छ ।
रौतहट महमद स्वास्थ्य चौकीमा कार्यरत उहाँले छोटो अवधिमा सो स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थासमेत बनाउन भूमिका निर्वाह गर्नुभएको थियो । छ वर्षको अवधिमा उहाँले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार विकासमा समन्वय गरी गर्भवती सेवा र विशेषतः स्वास्थ्य संस्थामा सुत्केरी गराउन जिल्लामा नै उल्लेखनीय योगदान दिनुभएको थियो ।
गत वर्षमात्र सो स्वास्थ्य चौकीमा एक हजार २०० भन्दा बढी सुत्केरी गरिएका थिए । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन इन्ष्टिच्यूटद्वारा संयुक्त रुपमा आजदेखि यहाँ शुरु भएको दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अनमी धिताललाई सो सम्मान वितरण गर्नुभयो ।
तीनदिने सो सम्मेलनमा ५६ जिल्लाका ग्रामीण क्षेत्रमा कार्यरत १२५ स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । इन्ष्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने स्वास्थ्य सम्मेलनमा एकजना स्वास्थ्यकर्मीलाई सो पुरस्कार प्रदान गर्ने गर्दछ । जीन तथा उहाँकी पत्नी म्यालिन साइमन्सले आफ्ना छोरा निक साइमन्सको स्मृतिमा सो इन्ष्टिच्यूट स्थापना गरी पुरस्कार प्रदान गर्दै आउनुभएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि मन्त्रालयले प्राथमिता दिएको बताउनुभयो । उहाँले कार्यान्वयनमा आउन लागेको नयाँ स्वास्थ्य नीतिमा सातै प्रदेशमा सरकारी तहबाट मेडिकल कलेज स्थापना हुने जानकारी दिनुभयो । सो अवसरमा जीन तथा उहाँकी पत्नी म्यालिन साइमन्सले नेपालका स्वास्थ्य सुधारका लागि आगामी दिनमा थप सहयोग गर्ने जानकारी दिनुभयो ।
