साहित्यमा महिला साहित्यकारको भूमिका
काठमाडौँ, ४ चैत : नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, महिला कवि, राजनीतिज्ञलगायतले नेपाली साहित्यमा महिला साहित्यकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
प्रज्ञा प्रतिष्ठान र महिला अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘समकालीन नेपाली साहित्यमा नारी हस्ताक्षर’ विषयक छलफल कार्यक्रममा उनीहरुले नारी कविताले सामाजिक, राजनीतिक र सांस्कृतिक चेतना विस्तारको काम गरेको बताएका हुन् । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महिला कविता लेखनले सामाजिक रुपान्तरणमा भूमिका खेलेको बताउनुभयो । समाज बलदलिँदै गएकाले साहित्य क्षेत्र पनि बदलिनुपर्ने उहाँले औँलाउनुभयो ।
उहाँले भन्नुभयो, “कविले पनि सामाजिक परिवर्तनअनुसार नै आफ्नो व्यवहार र आचरण बदल्न खाँचो छ ।” प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले पुरुषलाई शिव र नारीलाई शक्तिको उपमा दिइने गरिएको र दुबै एकअर्काको परिपूरक भएको बताउनुभयो । महिला अध्ययन केन्द्रका अध्यक्ष सीता ओझाले विद्यालय तहदेखि नै विद्यार्थीलाई साहित्यको ज्ञान दिन आवश्यक भएको औँलाउनुभयो ।
प्रतिष्ठान काव्य विभागका प्रमुख हेमनाथ पौडेलले प्रतिष्ठानले यस्ता छलफललाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । पूर्वसदस्य प्रभा बज्राचार्यले कविताले सबै वर्ग, जाति र लिङ्ग समेट्नुपर्ने औँल्याउनुभयो । प्रतिष्ठान प्राज्ञसभा सदस्य डा रजनी ढकालले जिल्ला र प्रदेश तहमा रहेका महिला कविलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठान प्राज्ञसभा सदस्य डा गीता त्रिपाठीले ‘समकालीन नेपाली कवितामा नारी हस्ताक्षर’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
