इतिहासशिरोमणि आचार्यका कृति संरक्षणमा जोड

काठमाडौँ, २९ फागुन : इतिहास शिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिइएको छ । इतिहास शिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयको विचार गोष्ठीका वक्ताले आचार्यका प्रकाशित/अप्रकाशित सबै कृतिको खोजअनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आचार्यको अध्ययनमा संलग्न सङ्घसंस्थासँग मिलेर प्रतिष्ठानले उहाँका कृति संरक्षण र संवद्र्धनका लागि आवश्यक कार्य गरिरहेको जानकारी गराउँदै आचार्यको नाममा विशिष्ट पुरस्कार स्थापना गर्न सरकारसँग आग्रह गर्ने बताउनुभयो ।

नेपालको इतिहास, भाषा, साहित्यलगायत क्षेत्रमा इतिहास शिरोमणि आचार्यको योगदानलाई संस्थागत गर्न सबैको सहयोगको अपेक्षा गर्दै आचार्यका अप्रकाशित कृति आगामी दिनमा प्रकाशन गर्दा मूलभावमा तोडमोड गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा तुलसीराम वैद्यले आचार्यलाई राज्यले इतिहास शिरोमणि पदवी दिएर ठूलो सम्मान गरेको भन्दै आचार्यको विद्वताको कदर गर्न उहाँका सबै कृति संरक्षण गरी नयाँ पुस्तासमक्ष ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्राडा त्रिरत्न मानन्धरले ‘बाबुराम आचार्य र उहाँको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहास शिरोमणि आचार्यले नै सगरमाथाको नामकरण पहिलो पटक प्रकाशनमा ल्याएका बारेमा जानकारी गराउनुभयो । प्राडा मीना ओझाले कार्यपत्रमाथि टिप्पणी गर्दै इतिहास र साहित्यलगायत क्षेत्रमा आचार्यले गर्नुभएको योगदान आजको पुस्ताका लागि इतिहासको स्रोत बनेको उल्लेख गर्नुभयो ।

पूर्वराजदूत एवम् आचार्य बन्धु समाजका संस्थापक अध्यक्ष राजेश्वर आचार्यले विश्वमा नेपाललाई चिनाउने एभरेष्ट शब्दसँगै कोेष्ठमा सगरमाथा पनि उल्लेख गर्न सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रतिष्ठानको समाजशास्त्र विभाग प्रमुख प्रा दिनेशराज पन्त, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य लगायतले आगामी पुस्ताका लागिसमेत मुलुकको गौरवमय इतिहास जीवन्त राख्न इतिहास शिरोमणि आचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो । इतिहास शिरोमणि आचार्यको जीवनी र कृतिका बारेमा जानकारी दिने उद्देश्यका साथ www.hbamf.org.np नामक नयाँ वेबसाइट शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.