च्याउखेतीबाट मनग्गे कमाइ

दमौली, २४ फागुन : नेपालमा रोजगारीको अवसर नभएको भन्दै युवा विदेशिने क्रम बढिरहेको अवस्थामा २४ वर्षीय पवन सुवेदीलाई भने देशमै बसेर केही गरौँ भन्ने भावना जागिरहेको थियो ।

पाल्पा जिल्ला निस्दी गाउँपालिका–१ निवासी उहाँमा विदेश जान मन नलागेपछि कुन पेशा उपनाउने भन्ने अन्योल हुँदाहुँदै थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने च्याउखेतीबारे जानकारी पाएर सुवेदीले च्याउखेती शुरु गर्नुभएको हो ।

डेढ वर्षअघिदेखि तनहुँको भिमाद नगरपालिका–५ बिरुवाफाँटमा जग्गा भाडामा लिएर च्याउखेती गरिरहनुभएका उहाँले भन्नुभयो, “विदेशमा गएर पसिना बगाउनुको सट्टा स्वदेशमै बसेर केही गरौँ’ भन्ने सोचले च्याउ खेती शुरु गरेको हूँ ।”

कक्षा १२ पढ्दापढ्दै छाडेपछि उक्त खेती शुरु गर्नुभएका सुवेदीले अहिले च्याउ बिक्री गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । दुई वटा टनेलमा च्याउ उत्पादन गरिरहनुभएका उहाँले दैनिक रु १० हजारभन्दा बढीको च्याउ बिक्री हुने गरेको बताउनुभयो । च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादित च्याउ भिमाद बजार, खैरेनीटार, दुलेगौडा, भानुमती र किहुँका साथै स्याङ्जाको चित्रेभञ्ज्याङ र पाल्पाको रामपुरसम्म बिक्री हुने गरेको छ ।

च्याउ बिक्रीका लागि सुवेदीले मोटरसाइकल खरीद गर्नुभएको छ । बिहान मोटरसाइकलमा च्याउ राखेर बिक्री गर्न हिँडेपछि घर फर्किंदा रातपर्ने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “मोटरसाइकलमै गाउँ–गाउँ पुगेर च्याउ बिक्री गर्दै आएको छु । च्याउको बजार पनि राम्रै छ । दिनमा सरदर नौ÷दश हजारको च्याउ बिक्री हुने गरेको छ ।”

उत्पादित च्याउ प्रति केजी रु २०० मा बिक्री हुने गरेको र बिक्रीका लागि अहिलेसम्म कुनै समस्या नभएको भन्दै सुवेदीले माग राम्रो भएपछि उत्पादन विस्तार गर्ने योजना बनाउनुभएको छ । दुई रोपनी जग्गामा दुई वटा टनेलमा च्याउ उत्पादन भइरहेकामा अब छिट्टै नै थप दुई टनेल बनाउने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेकाले यसलाई विस्तार गर्ने योजना छु ।” गर्मी याममा २० दिन र जाडो याममा ४० दिनभित्र च्याउ उत्पादन हुने गर्दछ । भिमाद नगरपालिका–९ का अगुवा युवा कृषक शिवकुमार आलेले सबै युवाले स्वेदशमै बसेर परिश्रम गर्ने हो भने विदेश जानै नपर्ने बताउनुभयो । च्याउ कृषक सुवेदीको परिश्रम उदाहरणीय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “आफँैले मोटरसाइकलमा राखेर च्याउ बिक्री गर्न हिँड्दा सवारी साधनको सदुपयोगसँगै आम्दानी पनि राम्रै भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.