कला साहित्य उत्सव सम्पन्न

भद्रपुर, २० फागुन : झापाको काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवको आज अन्तिम दिन पत्रकारिता, राजनीति र लैङगिक सवालमा बहस गरिएको छ ।

पत्रकारिताका विकृतिका बारेमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले खुला रुपले चिरफार गर्नुभएको छ । गाउँलेसँग सुविना श्रेष्ठ र सङ्गीत स्रोता बहसमा सहभागी रहनुभएको थियो ।

सहजकर्ता नारायण कँडरियाले झुठा समाचार र खरीद समाचारले नेपाली पत्रकारितामा पारेको प्रभाव बारेमा राखेको प्रश्नको उत्तर दिँदै पत्रकार गाउँलेले ‘फेक न्यूज र पेड न्यूज’को शृङ्खलामा एकजना मात्र दोषी नरहेको बताउनुभयो ।

उहाँले ‘समाचारमा धेरैको स्वार्थ रहेको हुँदा फेक र पेड न्यूज सञ्चारमाध्यममा बढी हाबी हुने गरेको बताउनुभयो । विश्व पौडेल र खगेन्द्र प्रसाईले ‘समृद्धि यात्राका सङ्ट’ विषयमा, सञ्जीव उप्रेती, भाष्कर गौतम र अमिना सिंहले ‘समाज विज्ञान र मानविकी सङ्ट’ विषयमा चर्को बहस गर्नुभएको थियो ।

त्यसैगरी खगेन्द्र सङ्ग्रौला र सिके लालले अभिव्यक्ति स्वतन्त्रताका बारेमा बहस गर्नुभएको थियो । शनिबारदेखि शुरु भएको कला साहित्य उत्सव आज सकिएको छ । प्रत्येक दुई वर्षको अन्तरालमा रिडर्सको आयोजनामा कला साहित्य उत्सव हुने गरेको छ ।

कार्यक्रममा काठमाडौँ, पोखरा, विराटनगर र छिमेकी मुलुक भारतका साहित्यकारको जमघट रहेको थियो । उत्सवमा विचार विमर्शदेखि विभिन्न कवितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनीसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.