कला विधा व्यवस्थित गर्नुपर्ने

काठमाडौँ, १७ फागुन : देशको सामाजिक सशक्तीकरणमा सिर्जनात्मक कला विधा प्रभावकारी हुने भएकाले कलाकारलाई प्रोत्साहन गरी यसलाई व्यवस्थितरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले आयोजना गरेको सिर्जनात्मक कला गोष्ठीका सहभागी कलाकारले यस क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गरी कलाको विकास र प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाकारले आफ्नो मेहनत, साधनाका माध्यमबाट सामाजिक अवस्थाको चित्रण गर्नसक्ने विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नयाँ तथा पुराना कलाकारकाबीचमा हुने अन्तक्र्रिया तथा अनुभव आदानप्रदानले समग्र कलाको विकासमा सहयोग पुग्ने बताउनुभयो । सदस्य सचिव विपिनकुमार घिमिरेले कला र साहित्यको विकासले समुन्नत समाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रा डा रामकुमार पाँडेले कला क्षेत्रको विकासमा पुराना पुस्ताले गरेको अनुभव र योगदानलाई युवा कलाकारले हौसलाका रुपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले नेपाली कार्टुनको वर्तमान चुनौती र यसको निराकरण, शिक्षिका सौरगङ्गा दर्शनधारीले नेपालमा भावभङ्गी कला (परफरमेन्स आर्ट) र कलाकार मनिषलाल श्रेष्ठले स्थापना कला (इन्सटलेसन आर्ट) काबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त विभागका प्रमुख रमेशनाथ खनालले वास्तुकला तथा सिर्जनात्मक कलाको विकासका लागि स्थलगत चित्रकला कार्यशाला प्रतियोगिता, अन्तक्र्रियालगायत कार्यक्रम गरिँदै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.