शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती सशस्त्रको टोलीद्वारा फेला

काठमाडौँ, १४ फाल्गुण : काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ती सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले आज फेला पारेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करीव तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपरान्ह करीव पौने पाँच बजे उक्त मूर्ती फेला पारेको हो ।

करीव ३५ के.जी. तौलको रहेको मूर्ती गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रुखको जराभित्र वडार जस्तो ठाउँबाट सो मूर्ती बरामद गरेको हो ।

पारिपट्टि डाडाँबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई जना व्यक्तिहरु उक्त मूर्ती छाडी भागेका थिए । सो मूर्ती उक्त वडार जस्तो ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो । उक्त मूर्ती एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ ।

सो ठाउँ गोपाल बाबाको आश्रम भन्दा माथि रहेको चिहान डाडाँमा रहेको छ । उक्त मूर्ती फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको एपीएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.