चिसोका कारण मौरी घारमै मर्न थाले

हुम्ला, १२ फागुन : हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् ।

स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दुई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताउनुभयो ।

अत्यधिक चिसो र हिमपातका कारण मौरीलाई चरन अभाव हुँदा घारभित्रै मर्न थालेको खार्पुनाथ गाउँपालिका–५ का कृषक रामजित भण्डारीले बताउनुभयो । जिल्लाका कृषकले पालेको मौरी १०० बढी घारमा मरेको देखिएको उहाँले बताउनुभयो ।

जिल्लामा दश वर्षयताकै चिसो र हिमपात भएकाले चरन अभाव भएर मौरी घारमै मरेको हुनसक्ने कृषकहरुले आशङ्का गरेका छन् । एक माना महको रु एक हजारदेखि एक हजार २०० सम्मको मूल्यमा बिक्री गर्ने गरेको मौरीपालक कृषक शाहीले बताउनुभयो । मौरी घारमै मर्ने गर्नाले आफूहरुलाई निकै समस्या भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.