चार गैँडाको उद्धार

कृष्ण आचार्य । भरतपुर, ११ फागुन : चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ ।

मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका गैँडाको उद्धार गरी निकुन्जको मुख्य क्षेत्रमा छाडिएको हो । निकुञ्जको पश्चिम सेक्टरबाट बस्तीमा निस्केका र बाढीले बगाएका चार गैँडाको उद्धार गरेर निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।

निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो । भरतपुर र माडीमा मानव बस्तीमा निरन्तर पस्न थालेपछि र धनजनको क्षति गर्न थालेपछि नियन्त्रणमा लिइएको हो । सुस्ताबाट बाढीले बगाएको गैँडालाई उद्धार गरी कसारा क्षेत्रमा छाडिएको थियो ।

“निकुञ्जको पूर्वी सेक्टरमा भन्दा पश्चिम सेक्टरमा गैँडा धेरै भेटिएको छ”, उहाँले भन्नुभयो, “त्रिवेणीभन्दा माथि भएका गैँडालाई पूर्वी क्षेत्रमा सार्ने योजना बनाएका छौँ ।” यस वर्ष हुने गैँडा गणनापश्चात विभाग र प्राविधिकको सल्लाहअनुसार गैँडा सार्ने काम गरिने उहाँको भनाइ छ ।

हालको गैँडाको सङ्ख्यालाई आधार मान्ने हो भने अहिले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा सार्नु जरुरी देखिएको निकुञ्जले जनाएको छ । “कुनै पनि संरक्षित क्षेत्रको वन्यजन्तु सङ्ख्या धान्न सक्ने क्षमता (केरिङ क्यापासिटी) हुन्छ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले भन्नुभयो, “पूर्वभन्दा पश्चिम सेक्टरमा धेरै गैँडा छन् ।” उहाँले बाढीका कारण पूर्वी क्षेत्रबाट बगाएर ल्याएका गैँडाको सङ्ख्या पश्चिम क्षेत्रमा बढेको बताउनुभयो ।

उपयुक्त बासस्थान भएका कारण चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले घाँसेमैदान व्यवस्थापन र पानीका स्रोत बढाउन आवश्यक रहेको बताउनुभयो । बासस्थानका हिसाबले भारतको काजिरङ्गापछि गैँडाको सङ्ख्याको आधारमा एशियाकै दोस्रो ठूलो उत्कृष्ट संरक्षित क्षेत्र चितवन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.