नेपाल–जाइका अल्मुनाइ एशोसिएशनको अध्यक्षमा पुनः डा भुसाल
काठमाडौँ, ११ फागुन : नेपाल–जाइका अल्मुनाइ एशोसिएशन (जान) को अध्यक्षमा डा रामचन्द्र भुसाल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । जानको शुक्रबार सम्पन्न अधिवेशनले डा भुषाललाई पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका कृषि विज्ञ डा भुसाल सार्क जाइका अलमनाइको छाता सङ्गठन जाइका अल्मुनाइ एशोसिएशन फोरम (जाफ्स) को वर्तमान महासचिव समेत हुनुहुन्छ ।
जानको उक्त सधारणसभाले सम्पूर्ण पदाधिकारी एवं सदस्यसमेत निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा केदार पौडेल, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका श्रेष्ठ, सचिवमा डा किरण रुपाखेती, सहकोषाध्यक्षमा दुर्गाप्रसाद भुसाल र सदस्यमा बुद्धिनारायण श्रेष्ठ, सुशीलकुमार भट्टचन, रोशन बज्राचार्य, गोमादेवी पौडेल, ई रामेश्वरप्रसाद कलवार र उमा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका बहालवाला तथा सेवा निवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहँदै आएको छ ।
