म्याग्दीमा फैलिँदै किबी खेती

सन्तोष गौतम । म्याग्दी, ११ फागुन : जलजला गाउँपालिका–५ भोटेडाँडाका यज्ञ सुवेदीले प्रतिकिलो रु २५० देखि ३०० का दरले यसपालि ७४४ किलोग्राम किबी पोखरा र बेनीका व्यापारीलाई बगैँचाबाटै बिक्री गर्नुभयो ।

किबीका बिरुवासमेत उत्पादन गर्दै आउनुभएका सुवेदीले २५ हजार बिरुवाको माग आएकामा एक हजार ५०० मात्रै बेच्न सकेको बताउनुभयो । “किबीको फल र बिरुवाको बजार राम्रो छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष १० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य सहित नर्सरीको क्षमता विस्तार गर्दैछु ।”

चार रोपनी पाखोबारीमा लगाएको ५० किबीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्रामभन्दा बढी उत्पादन गर्नुभयो । मकै, कोदो र आलुखेती गर्दा वर्षमा बढीमा रु २० हजार आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किबीबाट रु ७५ हजार कमाइ भएको उहाँ बताउनुहुन्छ ।

“अरुले प्रतिकिलो रु ३०० भन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो रु १५० बेच्यौँ”, पुर्जाले भन्नुभयो, “अन्नबालीको भन्दा किबीबाट धेरै बढी आम्दानी भयो ।” डेढ सय घरधुरीको बसोबास रहेको राम्चेका १०० घरले किबीका बिरुवा लगाएका छन् ।

अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दी, पर्वत, बागलुङको उच्च पहाडी क्षेत्रका कृषक पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । परीक्षणका लागि लगाइएका बोटले उत्पादन दिन थालेपछि व्यावसायिक खेती विस्तार गरेको राम्चेका ओमबहादुर पुर्जाले बताउनुभयो । म्याग्दीको राम्चे, बरङ्जा, दिच्याम, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेती गर्ने क्रम बढेको छ ।

तीस वर्षअघि जापानबाट आएका स्वयंसेवकले धवलागिरि क्षेत्रमै पहिलोपटक राम्चेमा किबी भित्र्याएका थिए । स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थ्यकर मानिने किबीका मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् ।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । किबी म्याग्दीमा भित्रिएको नयाँ फलफूल खेती भएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबी खेती गर्न सकिन्छ । विभिन्न १२ प्रकारका पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ ।

अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकीफलका रुपमा चिन्ने गरिएको छ । किबी चीनमा विकास भएको फलफूल हो । पछि यो युरोपियन देशमा विस्तार भयो । न्यूजिल्याण्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ ।

सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातका किबीका बिरुवाको मूल्य सरकारी दररेटअनुसार प्रतिगोटा रु १०० छ । निजी नर्सरीबाट रु ३०० सम्ममा बिक्री हुन्छ । असिनाबाट जोगाउन सकेमा किबीबाट राम्रो प्रतिफल लिन सकिने मालिका गाउँपालिका–२ रुमका भीमबहादुर पुनले बताउनुभयो ।

“सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने भएकाले किबी लगाएको हो”, पुनले भन्नुभयो । प्रति आठ पोथी बिरुवा बराबर एक भाले किबीका बिरुवा लगाउनुपर्ने उहाँले बताउनुभयो । एक रोपनीमा १५ सम्म किबीका बिरुवा लगाउन सकिन्छ । किबी खेतीलाई व्यावसायिक बनाउन बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीका ५० कृषकलाई यस वर्ष ८१५ बिरुवा वितरण गरेको वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.