नयाँ पुस्तालाई ज्ञान हस्तान्तरणमा जोड

काठमाडौँ, १० फागुन : परम्परागत शिल्पकलाको संरक्षणका लागि त्यससम्बन्धी ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत चित्रकला तथा शिल्पकला विभागले ‘नेपाली परम्परागत पौभा तथा थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती’ विषयक गोष्ठीका वक्ताले शिल्पकलामा आवश्यक शास्त्रीय ज्ञानको प्रशिक्षण दिने संस्थाको अभावमा सो व्यवसाय सङ्कटमा पर्न लागेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

उक्त प्रतिष्ठानका कुलपति केके कर्माचार्यले परम्परागत रुपमा बनेका स्वदेशी कला, शिल्प, मौलिकताले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा पहिचान बढाएको बताउँदै नेपाली शैली र परम्परामा रहेका विशेषता र आकर्षणले तीनलाई विदेशमा अभ्यास गर्न थालिएको बताउनुभयो । विभागका प्रमुख बुद्धिबहादुर गुरुङले प्राचीन शिल्पकलाको अध्ययनमा चुनौती रहेका कारण सो पेशा लोप बन्न लागेको विचार व्यक्त गर्दै उक्त कलामा भएका समस्या तथा समाधानका उपाय खोजेर त्यसको जगेर्नाका लागि विभागले कार्यक्रम गरेको बताउनुभयो ।

विज्ञ पूर्णप्रसाद ह्योजु र प्राज्ञ धर्मराज शाक्यले कार्यपत्र प्रस्तुत गर्दै पौभा तथा थाङ्का दुवैमा धार्मिक विषय प्रवेश गर्ने हुँदा ती एकापसमा सहसम्बन्धित रहेको विचार व्यक्त गर्नुभयो । दुवैमा आभूषण, वस्त्र, तोरण, सिंहासन शरीर प्रभा, शिर, प्रभालगायतमा प्रयोगमा शिल्पको प्रयोग हुने उहाँहरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.