सामूहिक चित्रकला प्रदर्शनी

काठमाडौँ, १ फागुन : युनिक स्ट्रोक ग्रुपमा आबद्ध कलाकार प्राज्ञ सुषमा राजभण्डारी, चन्दा श्रेष्ठ र रत्नकाजी शाक्यको सामूहिक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्मा आजदेखि शुरु भएको छ ।

यही फागुन ५ गतेसम्म चल्ने सो प्रदर्शनीमा ३१ चित्र समावेश गरिएको छ । प्रदर्शनीमा गणेश, शिव, असनदेखि इन्द्रचोकसम्मको बस्ती, महिलाका सङ्घर्ष, चोभारको प्राकृतिक सौन्दर्य र सामाजिक जनजीवनका विभिन्न प्रभावलाई चित्रमार्फत देखाउन खोजिएको छ । एकरेलिकमा तेल रङ्गको प्रयोग भएका विभिन्न चित्रले प्रदर्शनीको रौनक थपेको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रदर्शनीको आज शुभारम्भ गर्दै कला, संस्कृति, ऐतिहासिक सभ्यताले काठमाडौँ महानगर सम्पन्न रहेको बताउनुभयो । उहाँले देशमा हुन लागेको भ्रमण वर्षलाई सफल बनाउन नेपालीकला र संस्कृतिको विकासमा आफ्नो संस्थाले योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तर्राष्ट्रिय तहमा नेपाली कला संस्कृतिले देशको गौरव बढाएकाले तीनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनीमा आबद्ध कलाकारत्रय प्राज्ञ राजभण्डारी, श्रेष्ठ र शाक्यले स्वदेशी मौलिक कला, संस्कृतिको विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी गरिएको बताउनुभयो । उहाँहरुले देशमा सामाजिक सशक्तीकरणका साथै विविधताभित्रको एकता र सद्भाव बढाउन कलाको महत्व रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.