विपन्न समुदायका लागि लघुवित्त सहयोगी

पाल्पा, १ फागुन : ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका लघुवित्तले नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । आर्थिक अभावका कारण सानातिना व्यवसाय सञ्चालन गर्न नसक्ने विपन्न समुदायका लागि लघुवित्त सहयोगी बनेको छ ।

रिब्दीकोट गाउँपालिका हार्थोककी शोभा घर्तीले लघुवित्तबाट ऋण लिएका महिलाको आर्थिक परनिर्भरता हटेको सुनाउनुभयो । ‘‘तरकारी, भैँसीपालन, कुखुरापालनले आर्थिकरूपमा आत्मनिर्भर बनेको छौँ, दिदीबहिनी पैसाका लागि श्रीमानको भर पर्नुपर्ने बाध्यता हट्दै गएको छ’’ उहाँले भन्नुभयो ।

रिब्दीकोटकी चम्फा विकले पसल र कुटानीपिसानी मेशिन सञ्चालन गरी समुदायमा नै नमूना काम गर्न सफल हुनुभएको छ । लघुवित्तको सानो ऋणबाट व्यवसाय सञ्चालन गर्नुभएकी उहाँले सो पेशाबाट आत्मनिर्भर हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था हार्थोकको आयोजना र आरएमडिसी लघुवित्त संस्था काठमाडौँको सहयोगमा सञ्चालित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारको आर्थिक उन्नतिमा खेलेको भूमिका विषयक अन्तक्र्रियामा गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा लघुवित्तले ऋण दिई राम्रो उत्पादन गरेमा गाउँपालिकाले थप अनुदान दिने बताउनुभयो ।

गाउँपालिकाले दूध र टम्टरमा उत्पादनका आधारमा किसानलाई अनुदान दिने व्यवस्था गर्न थालेको छ । गाउँपालिकाले एकल महिलालाई सक्षम बनाउनका लागि सीपमूलक तालीम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम विश्वकर्माले विपन्न गरीब परिवारका मानिसको जीवनस्तर माथि उठाउनका लागि लघुवित्त सफल भएको बताउनुभयो ।

कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी प्रमुखले पहाड र तराई १९ जिल्लाबाट सेवा विस्तार गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका–१ का वडाध्यक्ष विष्णु गैरे र २ का वडाध्यक्ष रामचन्द्र नेपाल, ३ का विष्णु खनालले वडा कार्यालयमा समन्वय गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । लघुवित्तले सरकारसँग सस्तोमा ऋण लिने र जनतालाई महँगो ब्याजमा लगानी गरी ढाड सेक्ने काम हुन नहुने सुझाव उहाँहरुले दिनुभयो ।

कार्यक्रममां वाणिज्य बैंक हार्थोक शाखाका प्रमुख पारस घिमिरे, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा कोषाध्यक्ष मिलन विक, खस्यौली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामलाल अमात्यलगायतले सबै वित्तीय संस्थाले ऋण लगानी गर्दा संयुक्त ऋण लगानी सञ्जाल निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.