अकोर्याबको राष्ट्रिय सम्मेलन बुधबारदेखि
सुर्खेत, २९ माघ : सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्याब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलन बुधबारदेखि वीरेन्द्रनगरमा शुरु हुने भएको छ ।
विश्व रेडियो दिवसको अवसर पारेर अकोर्याब केन्द्रीय समितिले तीनदिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा देशभरका ३५० सामुदायिक रेडियोका प्रमख तथा प्रतिनिधि, रेडियो अभियन्ता र सञ्चार क्षेत्रका अगुवाको सहभागिता रहनेछ । अकोर्याबका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले सम्मेलनमा सङ्घको वार्षिक गतिविधिको समीक्षा हुनाका साथै पछिल्लो समय बनेका सामुदायिक रेडियो विरोधी नीतिनियम र कानूनको विरोध गर्दै आगामी रणनीति तय गरिने बताउनुभयो ।
गैरनाफामूलक उद्देश्यले सञ्चालित सामुदायिक रेडियोलाई श्रमजीवी पत्रकार ऐनले गरेका व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न समस्या परेका समस्याका बारेमा समेत छलफल गरिने उहाँले बताउनुभयो ।
