सडक सुरक्षा विधेयकको प्रक्रिया अघि बढाउन माग

काठमाडौँ, १८ माघ : सडक सुरक्षासँग सरोकार निकायका अधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा गरेको सडक सुरक्षा विधेयकको प्रक्रिया अघि बढाइनुपर्नेमा जोड दिएका छन् ।

नेपाल इञ्जुरी अनुसन्धान केन्द्रले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी कार्यशालामा संसद्मा यससम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएकी सांसद डा डिला संग्रौलाले विधेयकको प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

“सडक सुरक्षाको ग्यारेण्टी गर्ने दायित्व सरकारको हो, सडक निर्माणकै बेला सुरक्षित निर्माण भएको छ कि छैन, त्यसको गुणस्तरीयताको जाँच हुनुपर्छ, सडकको लम्बाइभन्दा गुणस्तर प्रमुख विषय हो, यसका लागि सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो । सवारी तथा यातायात व्यवस्था ऐन २६ वर्ष र नियमावली २० पुरानो हुँदा पनि सडक दुर्घटना रोक्ने कानूनी व्यवस्था कमजोर बनेको सांसद संग्रौलाको भनाइ थियो । विधेयक मस्यौदा गर्न भौतिक पूर्वाधार तथा यातायातका साथै वातावरण र स्वास्थ्य मन्त्रालय पनि जोडिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद रामकुमारी झाँक्रीले सञ्चार माध्यमले सडक दुर्घटनाका विषयको ‘इनडेप्थ रिपोर्टिङ’ गरी सरोकार भएका निकायलाई झक्झक्याउनुपर्ने धारणा राख्नुभयो । “मानिसको मनस्थिति पैदल, मोटरसाइकल, निजी सवारी साधन र सार्वजनिक यातायातमा चढ्दा आफूलाई केन्द्रमा राखी फरक फरक हुने गरेकाले सडक सुरक्षाको समस्या समाधान गर्न अप्ठ्यारो हुने गरेको छ, यसका लागि सञ्चारमाध्यमले वकालत गर्नुपर्छ”,उहाँले भन्नुभयो ।

दुर्घटना कम गराउन सरकार र नागरिक दुवै जिम्मेवार हुनुपर्ने सांसद झाँक्रीको भनाइ थियो । स्थानीय तहका वडामा डोजर मालिकको लहडमा सडकको ट्रयाक खोलिने गरेकाले सुरक्षित हुन नसकेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले सडकमा ठूलाबडाका सवारीलाई ट्राफिक प्रहरीले सहुलियत दिई छिटो अघि बढाउँदा दुर्घटनाका घटना बढ्ने गरेकाले एम्बुलेन्स र दमकल बाहेकका सवारीलाई यस्तो सुविधा दिन नहुने बताउनुभयो । सञ्चारमाध्यमले जनतालाई शिक्षा दिने किसिमका समाचार सामग्री प्रकाशन गर्नुपर्ने उहाँको विचार थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले सडक सुरक्षासम्बन्धि विधेयक तयार भई अघि बढ्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

प्रहरीको अभिलेखअनुसार सडक दुर्घटनाकै कारण वार्षिक दुई हजार मानिस मर्ने, चार हजार गम्भीर घाइते भई अपाङ्ग हुने र छ हजार मानिस सामान्य घाइते हुने गरेको तथ्याङ्क उहाँले सो अवसरमा जानकारी गराउनुभयो । विसं २०६५ असोज ८ गतेको दुर्घटनामा परी स्पाइनल इञ्जुरीको समस्या व्यहोरिरहनुभएका पत्रकार गजेन्द्र बुढाथोकीले दुर्घटनापछि महङ्गो जीवन बिताउन बाध्य हुनुपरेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका अध्यक्ष रविन्द्रराज पाण्डे, कार्यकारी प्रमुख प्रा डा दामोदरप्रसाद पोखरेल, कलेजकी प्राचार्य प्रा डा चन्दा कार्की, केन्द्रका निर्देशक प्रा डा सुनीलकुमार जोशी, डा पुष्पराज पन्त, इञ्जिनीयर श्रीराम पौडेल लगायतले सडक सुरक्षा विधेयकको प्रक्रिया शीघ्र अघि बढाउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.