बाँसको जराबाट कलाकारिता

केदार मगर । खोटाङ, १७ माघ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो ।

नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँसलगायत कच्चा पदार्थ प्रयोग गरेर सबै किसिमका मूर्ति निर्माण गर्नुहुन्छ । बुबा मनदत्त राई र आमा धनकुमारी राईको जेठो छोरा रोजन सानै उमेरदेखि मूर्तिकलामा चासो राख्ने व्यक्ति रहेको उहाँका छिमेकी बताउँछन् ।

बीस वर्षदेखि मूर्ति निर्माणको पेशा अँगाल्दै आउनुभएका राईले अहिलेसम्म हजारौँ मूर्ति तथा प्रतिमा निर्माण गरिसक्नुभएको छ । “विशेषगरी संस्कृतिसम्बन्धी मूर्ति निर्माणको माग बढी आउँछ”, उहाँ भन्नुहुन्छ, “अहिले हङकङकमा पठाउनका लागि काम भइरहेको छ, यो सक्ने बित्तिकै अमेरिका, बेलायतलगायत देशमा गएर मूर्ति बनाउनुपर्ने छ ।”

धनकुटाको भेँडेटारमा कला उद्योग, आर्ट स्टुडियो र ग्यालरी रिसोर्टसमेत सञ्चालन गर्नुभएका मूर्तिकार राईले आफ्नो मासिक कमाइ रु दुई लाख ५० हजारसम्म हुने गरेको बताउनुहुन्छ । “नौ कामदारलाई खाना तथा खाजा खुवाएर मासिक रु १५ हजार तलब दिनुपर्छ ।” उहाँ भन्नहुन्छ, “बढ्दो महङ्गीमा पनि सबैथोक कटाएर मासिक रु दुई लाख ५० हजारसम्म बचत हुन्छ ।”

मूर्तिकार राईले काठमाडौँको शङ्खमुलस्थित वाग्मती किनारमा देशकै सबैभन्दा ठूलो शङ्खको मूर्ति, कोटेश्वरमा रैछाकुलेको प्रतिमा, खोटाङको हलेसीस्थित तुवाचुङ जायाजुङमा तायामा, खियामा र रैछाकुलेको प्रतिमा, धनकुटामा हिलेको तुङ्बा, भेँडेटारमा शङ्ख मन्दिर, धरानको यलम्बर पार्कमा यलम्बर राजाको प्रतिमा, पार्खीबासमा बुद्धको मूर्ति, दिक्तेलको भुलभुलेमा बुढानिलकण्ठको मूर्ति, विभिन्न जिल्लामा शहीदका प्रतिमा निर्माण गरिसक्नुभएको छ । नेपालका प्रायः सबै जिल्लामा पुगेर मूर्ति तथा प्रतिमा निर्माण गर्नुभएका राईले भारतको सिक्किममा सुम्निमा÷पारुहाङ, यलम्बर, किरातेश्वरलगायत १०० भन्दा बढी मूर्ति निर्माण गरिसक्नु भएको छ ।

सिक्किमको गान्टोकस्थित राङ्का गाउँपालिकामा निर्माणाधीन पारुहाङ साप्तेन माङ्गखिममा मूर्तिकार राईले निर्माण गर्नुभएको चिण्डो (बाबु) सबैको आकर्षण बढेको बताइएको छ ।
ऐतिहासिक चित्रलाई मूर्ति तथा प्रतिमा आकार दिएर आम समुदायमा पु¥याउन पाउँदा आफैँलाई गर्व महसुस हुने गरेको मूर्तिकार राई उल्लेख गर्नुहुन्छ “जुनसुकै धर्म तथा जातजातिको विषयमा होस्, उनीहरुको संस्कृति संरक्षणमा मैले पनि धेरथोर सहयोग गर्न पाएको छु ।” उहाँ भन्नुहुन्छ, “कतिपय देख्दै नदेखेको कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न पाउँदा आफँैलाई गर्व लाग्छ ।”

मूर्तिकार राईले आफ्नो पेशासँगै नेपालका विभिन्न जिल्लामा पुगेर दर्जनौँ युवालाई हस्तकलासम्बन्धी तालीम दिएर स्वरोजगार पनि बनाउनुभएको छ । उहाँले तालीम दिनुभएका कतिपय युवाले फर्म नै खोलेर हस्तकलासम्बन्धी काम गरिरहेका छन् । पछिल्लो समय नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति तथा बुद्ध पार्कको नमूना र प्रतिमा निर्माणका काम थालिएको राईको भनाइ छ । धरानको भेँडेटारमा निर्माण गरिने उक्त मूर्ति र पार्क आगामी तीन वर्षभित्र पूरा हुने जनाइएको छ ।
“हाम्रो देश पर्यटकीय क्षेत्रको हिसाबले समृद्ध छ”, उहाँ भन्नुहुन्छ, “सरकारको ध्यान जान सकेमा पर्यटनबाट नै मनग्य आम्दानी गर्न सकिन्छ ।”

नेपालका विभिन्न ठाउँमा आयोजना गरिएका हस्तकला प्रदर्शनीमा दर्जनौँ उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएका मूर्तिकार राईले ललितकला प्रज्ञा परिषद्बाट हस्तकला मूर्तिकला विभागअन्तर्गत विशेष सम्मानसमेत प्राप्त गरिसक्नुभएको छ । हस्तकलाका माध्यमबाट नेपालका आदिवासी जनजातिको संस्कार÷संस्कृति संरक्षण तथा प्रवद्र्धनमा मूर्तिकार राईले महत्वपूर्ण भूमिका निर्वाह गरेवापत नेपाल आदिवासी जनजाति महासङ्घले पनि सम्मान गरेको छ ।

लाटोकोसेरो तथा हुचिल उत्सव माघ १८ देखि 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने आठौँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पूरा भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ १८ र १९ गते आयोजना गरिएको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पूरा भएको हो ।

महोत्सवका लागि जालपामा लाटोकोसेरो तथा हुचिल स्तम्भ निर्माण, उत्सवस्थल पुग्ने सिँढी, मञ्च निर्माण, विद्युत् व्यवस्थापनलगायत काम पूरा भएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एवं वडाध्यक्ष विकास राई बताउनुहुन्छ । वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आयोजना गरिएको उत्सवका लागि लोपोन्मुख बनेका सांस्कृतिक नृत्य, गीत, वाद्यवादन, लोपोन्मुख खेल प्रदर्शनको तयारी पूरा भइसकेको छ ।

लाटोकोसेरो तथा हुचिल उत्सवस्थल जालपा पुग्नका लागि मध्यपहाडी लोकमार्गको हुलुङबाट जालपा पुग्ने सडक निर्माण, अस्थायी सङ्ग्रहालय निर्माण पनि सम्पन्न भएको जनाइएको छ । ‘किसानको साथी’का रूपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले जालपामा उक्त उत्सव आयोजना गरिएको हो ।
उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघुम्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत स्थानीय लोपोन्मुख खेल प्रदर्शनी गरिने छ । सोही दिन राति लाटोकोसेरोको महत्व दर्शाउने खालका श्रव्यदृश्य प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

अवैध चोरीनिकासी, वन बिनास, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि ‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्य बताउनुहुन्छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छ्वाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.