प्राङ्गारिक खेती गर्दै सहकारी

चितवन, १३ माघ : विषादीयुक्त तरकारीको भयवाट त्रस्त आफ्ना सदस्यका लागि यहाँको हंश बहुउद्देश्यीय सहकारी संस्थाले प्राङ्गारिक खेती शुरु गरेको छ । भरतपुर महानगरपालिका–१५ फूलबारीमा दुई बिघा १० कठ्ठा जग्गा भाडामा लिएर उक्त खेती शुरु गरिएको हो ।

साउनको पहिलो साता धान खेती गरिएकामा हाल सबै बारीमा विभिन्न जातका तरकारी छन् । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार ६९ क्विन्टल धान उत्पादन गरी रु दुई लाख १० हजारमा बिक्री गरिएको छ । सोही ठाउँमा अहिले विभिन्न जातका सागसँगै लसुन, प्याज, चुकन्दर, मुला, चम्सुर, धनियाँलगायत तरकारी लगाइएको छ । सबैभन्दा बढी एक बिघा १० कठ्ठा जमीनमा गाजर लगाइएको छ । बाँकीमा अरु तरकारी छन् ।

अध्यक्ष चुकेका अनुसार प्राङ्गारिक खेती गर्दा झारनाशक विषादी प्रयोग नगरिने भएकाले झार हटाउन निकै खर्च लागेको छ । उहाँले भन्नुभयो, “विषादी हाल्दा पाँच हजारले उम्कने ठाउँमा गोडमेल गर्न खेतालाका लागि झण्डै रु तीन लाखभन्दा बढीे लागिसकेको छ ।” सहकारीले सोझै आफ्ना सदस्यलाई तरकारी बिक्री गर्ने हुँदा धेरै महङ्गो भने नपर्ने उहाँले बताउनुभयो । बिचौलियाले खाने नाफा गोडमेलका खेतालामा जान्छ तर उपभोक्ताले प्राङ्गारिक तरकारी खान पाउने उहाँको भनाइ थियो ।

सो परियोजना हेर्दै आउनुभएका अग्रणी प्राङ्गारिक कृषक चन्द्रप्रसाद अधिकारी शुरुका खेतीमा बढी खर्च लागे पनि क्रमशः झारको समस्या केही कम हुँदै जाने बताउनुभयो । अधिकारीका अनुसार कुखुराको मल कुहाएर प्रयोग गरिँदै आएको छ । यसैगरी गाईको मल, पिना, झारपात कुहाएर मल बनाएर प्रयोग गरिँदै आएको छ । प्राङ्गारिक खेतीमा ‘बायोपेस्टिसाइड’ र ‘वायोफङ्गीसाइड’ प्रयोग गर्न मिल्ने भए पनि प्रमाणित भए–नभएको हेरेर मात्र प्रयोग गरिएको उहाँले बताउनुभयो ।

सहकारीले आउँदो आर्थिक वर्ष १० बिघा क्षेत्रमा प्राङ्गारिक खेती गर्ने लक्ष्य लिएको छ । सहकारीमा तीन हजार १०० सदस्य छन् । शेयर पूँजी रु आठ करोड ५० लाख रहेको सो सहकारीको निक्षेप रु ४२ करोड र ऋण लगानी रु ४५ करोड छ । ऋण समितिका सदस्य गौरीश्वर सापकोटा सबै सदस्यलाई प्राङ्गारिक खेतीतर्फ उत्प्रेरित गर्दै स्वस्थ्य सदस्य बनाउनका लागि सहकारीले उत्पादन बढाउँदै लाने बताउनुभयो । उहाँका अनुसार आफ्नै जमीन भएर खेती गर्न सक्नेलाई आवश्यक सहयोगसमेत सहकारीले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.