कृषि, कुखुरापालन तथा दुग्ध उद्योगसम्बन्धी प्रदर्शनी शुरु
चितवन, ११ माघ : कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि यहाँको चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दाबढी कृषिसँग सम्बन्धित कक्षमा ४०० प्रकारका उत्पादन प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि, नेपाल पोल्ट्री महासङ्घ, चितवन उद्योग सङ्घलगायत संस्थासँग आबद्ध कृषक तथा व्यवसायीसमेत सहभागी हुने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताउनुभयो । प्रदर्शनी माघ १३ गतेसम्म चल्नेछ ।
प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदर्शनीको उद्घाटन गर्दै सामूहिक खेती प्रणालीमार्फत अहिले बाँझो रहेका खेतमा खेती गरिने बताउनुभयो ।
अहिलेसम्म नेपालको खेती निर्वाहमुखी खेती भएको उल्लेख गर्दै उहाँले अब व्यावसायिकरुपमा खेती गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सामूहिक खेती गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।
पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, नेपाल कृषि सहकारी महासङ्घका अध्यक्ष खेम पाठक, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीलगायतले बोल्नुुभएको थियो ।
प्रदर्शनीमा कुखुरापालन, माछापालन, गाईभैँसीपालन, बाख्रापालन, डेरीलगायत नवीनतम् औजार, उपकरण, केराखेती, थोपा सिँचाइ र विषादीरहित कृषिका बारेमा तालीम एवं गोष्ठी सञ्चालन गरिनेछ ।
