केसीका माग नेपालीको भावनासँग जोडिएको छ : काङ्ग्रेस प्रवक्ता शर्मा
धनगढी, ७ माघ : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत् प्राध्यापक डा गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताउनुभयो ।
सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गर्नुभयो ।
बारको ध्यानाकर्षण
नेपाल बार एशोसिएसनले चिकित्सक डा गोविन्द केसीको जीउधनको सुरक्षा र स्वतन्त्रताप्रति संवेदनशील हुन सरकारसँग माग गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, स्वतन्त्रता तथा मानव अधिकारको रक्षाप्रति राज्यपक्ष संवेदनशील हुन अपिल गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “चिकित्सक डा केसीको मागप्रति राज्य जिम्मेवार बन्न, जीवनमरणको दोसाँधमा रहेको हुँदा जीवनरक्षाका लागि राज्य र समाज दुवैको नैतिक जिम्मेवारी र कर्तव्य भएकाले त्यसप्रति भूमिका निर्वाह गर्न बार अपिल गर्दछ ।”
