अदुवाबाट मनग्य आम्दानी

कावासोती, ७ माघ : अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् ।

पूर्वनवलपुरका नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन् । “गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ,” कोटथरका हेमान सिङ्जालीले भन्नुभयो, “गत वर्ष सिँत्तैमा दिएको जस्तो भएको थियो ।”

आम्दानीको मुख्य स्रोेतका रुपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चा यस वर्ष अदुवाबाट मनग्य आम्दानी भएको बताउनुुन्छ । “मूल्य व्यापारीले तोक्छन्, उनीहरुकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

स्थानीय व्यापारी तुलबहादुर गाहा अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताउनुहुन्छ । उहाँले यहाँबाट खरीद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आउनुभएको छ । यस वर्ष उहाँले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहनुभएको छ ।

अघिल्लो वर्ष सुठो प्रतिधार्नी रु ३५० मा खरीद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी रु ८०० मा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन् । सो क्षेत्रमा सडक जीर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । “गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ,” नरमका टेकबहादुर थापाले भन्नुभयो, “ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौँ ।”

नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको मुख्य क्षेत्रका रुपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका–६ का वडाध्यक्ष नेमबहादुर थापा बताउनुहुन्छ । सो गाउँपालिकाले वडा नं १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा नं ६ मा अदुवाको मुख्य क्षेत्रको योजना बनाएको उहाँले बताउनुभयो । “कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,” उहाँले भन्नुभयो । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको रु १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.