युवा कवि वर्तौलाको कविता सङ्ग्रह ‘राष्ट्र उदगार’को लोकार्पण

काठमाडौँ, ५ माघ : युवा कवि राम वर्तौलाको कविता सङ्ग्रह राष्ट्र उदगार आजदेखि बजारमा आएको छ ।

कविता सङ्ग्रहको विमोचन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले परिवर्तनका सबै ढोका खोलेको बताउनुभयो । उहाँले संविधानले सबै ढोका खोलिसकेका कारणले समृद्ध नेपाल बनाउन कुनै बाधा अड्चन नभएको र बाधा अडचन छ भने मानिसको पुरानो तथा स्वार्थवादी चिन्तन तथा विचार हो भन्नुभयो ।

सांसद रामनारायण विडारीले साहित्यकारले सत्य ज्ञानमा आधारित भएर समाज परिवर्तन गर्ने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो ।

समीक्षक रामप्रसाद ज्ञवाली र पुण्य विश्वास गौतमले कविको कविता सङ्ग्रहमा बुद्ध पुनःएकचोटी जन्म लेउजस्ता मार्मिक कविता रहेको बताउनुभयो ।

कृतिकार राम वर्तौला आँसुले देशमा परिवर्तन भए पनि जनतामा असन्तोष अझै रहेको भन्दै त्यसलाई बाहिर खोतल्ने हिसाबले यो कविता सङ्ग्रह लेखेको बताउनुभयो ।

सो कविता सङ्ग्रहमा राष्ट्रियताको भावना जागरण गराउने विभिन्न शीर्षकका ३० वटा कविता रहेको छ । ‘बुद्ध पुनःएक चोटी जन्म लेऊ’, ‘शब्दप्रतिको प्रेम’ र ‘अस्तित्वको खोजी’ जस्ता शक्तिशाली कविता समावेश कवि वर्तौलाको यो पाँचौँ कविता सङ्ग्रह हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.