ढकालद्वारा लिखित ‘कृषि उद्यम’ विमोचन
गोदावरी, ४ माघ : पत्रकार बाबुराम ढकालद्वारा लिखित ‘कृषि उद्यम’ पुस्तकको आज विमोचन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
नेता खनालले नेपाली नागरिकले कृषि व्यवसायमा जोड दिँदा मुलुक समृद्ध हुने बताउनुभयो । “नेपालको ३० प्रतिशत कूल गार्हस्थ्य उत्पादन कृषिले धानेको छ”, उहाँले भन्नुभयो, “नेपालीलाई आत्मनिर्भर बनाउने मूल कडीनै कृषि व्यवसाय हो ।”
ढकालले किसानले भोगेका विभिन्न समस्या र पीडालाई उक्त पुस्तकमा समाहित गर्नुभएको छ । “सरकारले कृषि क्षेत्रमा गरेको व्यवस्था र किसानले कृषि क्षेत्रमा लाग्दा भोग्नुपरेको विभिन्न समस्या हटाउन आवश्यक देखेँ”, ढकालले भन्नुभयो, “नेपालीलाई आत्मनिर्भर बनाउने मूल कडीनै कृषि व्यवसाय हो, यसमा सरकारको ध्यान जानु पर्छ ।” उहाँले सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा साकार बनाउन कयौँ किसानले हालसम्म सहज रुपमा कृषि अनुदान र बीमाको सुविधा पाउन नसकेको कुरा पुस्तकमा उल्लेख गर्नुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग व्यवसायी सङ्घका सदस्य मोहन कटवालले सरकारी नीति गतिलो नभएका कारण ८० प्रतिशतभन्दा बढी कृषिउपज अन्य मुलुकबाट नेपाल भित्र्याउन बाध्य हुनु परेको बताउनुभयो । नेपाल उद्योग परिषद्का उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कृषि मन्त्रालय र नार्कले आफ्नो काम सुदृढ नगरेका कारण नेपाल कृषि व्यवसायमा पछि परेको बताउनुभयो । राष्ट्रिय किसान आयोगका सदस्य मीना तामाङ कृषि पेशामा रहेका विकृति विसङ्गतिलाई नहटाउँदासम्म नेपाल पछि परिरहने बताउनुहुन्छ ।
