फ्रान्समा हिउँमा मूर्ति बनाउँदै तिन नेपाली कलाकार

काठमाडौंँ, ३ माघ : फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली छानिएको छ । यही माघ ८–११ गतेसम्म हुने महोत्सवमा नेपाली समूहले ‘ह्वाइट ड्रप्स्’ शीर्षकमा हिउँमा मूर्ति बनाउनेछन् ।

माउण्ट एभरेस्ट टिम नाम राखिएको नेपालसहितको उक्त प्रतिस्पर्धामा विश्वभरिबाट आठ टोली छानिएको मूर्तिकार पिठाकोटेले जानकारी दिनुभयो । चार हजार मिटर उचाइमा हुन लागेको उक्त महोत्सवमा प्रतिस्पर्धा गर्न जुटेका नेपाली कलाकारले पुरस्कार जित्ने विश्वासका साथ काम गर्ने बताउनुभएको छ । “हामीले सक्दो प्रयास गर्नेछौँ । पाँचौँ स्थानमा पर्न सकियो भने पनि हामीले बनाएका हिउँको कृति सङ्ग्रहालयमा सङ्गृहीत हुनेछ, जुन हाम्रा लागि सुखद समाचार हुनेछ,” पिठाकोटेले भन्नुभयो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी आफूहरुले काम गर्ने पिठाकोटेले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँ कला हिमालय र हिमालसम्बन्धी फेस्टिभलमा बनाउने संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको छ । हिउँका सेता थोपाहरुले व्यक्ति, समूह, गाउँ, शहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धीकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश दिने विश्वास हामीले लिएका छौँ ।” पिठाकोटे यसअघि भारत, बङ्गलादेश, दक्षिण कोरिया, जापान, इजरायल, मलेसिया, थाइल्याण्ड, रुस तथा रोमानियामा भएका मूर्ति कार्यशालामा सहभागी भइसक्नुभएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

उपहारका रुपमा हिउँका थोपाहरुले फ्रान्समा प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अझ शुद्धता दिने विश्वास लिइएको अर्का मूर्तिकार मगरले बतानउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.