सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस : सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।

यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादमा कमी आएको छ । गत वर्ष मैले आफूले खाएर पनि रू ८० हजारको सुन्तला बेचेको थिएँ तर यस वर्ष रू २० हजारको पनि उत्पादन भएन ।” समयमा वर्षा नहुनु तथा सुन्तलाको बोट पुरानो हुँदै जानाका साथै रोगका कीरा आदिको प्रकोपका कारण सुन्तला बगैँचा मासिँदै गएकाले उत्पादन घटेको पीडित कृषकको भनाइ छ ।

विगतको वर्षमा झैँ हेरचाह गरे पनि उत्पादनमा कमी आएको भोजपुर नगरपालिका–४ शिद्धेश्वरका अर्का कृषक भीमबहादुर मिजारले बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्रो क्षेत्रमा मात्र हैन जिल्लाको सबै स्थानमा यस वर्ष सुन्तला फलेन, यस वर्ष त सुन्तला आफैँलाई खान मात्रै ठिक्क होला जस्तो छ ।” जिल्लामा गत वर्ष सात हजार ९२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

सुन्तलाबाट गत वर्ष रु २३ करोड ७६ लाख आम्दानी भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा २८७ वटा ठूला बगैँचा र अन्य ठाउँमा सामन्यरुपमा सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित सुन्तला धरानको कृषि वजार, इटहरी, विराटनगर, काठमाडाँैलगायत स्थानमा खपत हुने गरेको छ । जिल्लाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौछा, साङपाङ, रानीवास, आम्तेक, प्याउली शिद्धेश्वर, गुप्तेश्वर, मूलपानीलगायतका ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.