प्रदेशस्तरबाट लोककलाको विकास गर्न नाफा कुलपतिको जोड

मीना घोरासाइने । काठमाडौँ, २० पुस : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफ) का नवनियुक्त कुलपति कान्छाकुमार(केके) कर्माचार्यले विभिन्न प्रदेशमा बसोबास गर्ने जातजातिका कला र लोककलाको व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको बताउनुभएको छ ।

नेपाल ललितकला पत्रकार समाज(सोफाज) ले हरेक महीनाको दोस्रो शुक्रबार आयोजना गर्ने ‘कलाका कुरा’मा अन्तर्गत आज कुलपति कर्माचार्यले मिथिला, थारु, नेवार, अवधी, तामाङ तथा किराँत कलाको विकासका लागि प्रदेशस्तरबाटै काम गरिने जानकारी दिनुभयो ।

उहाँले नाफा र सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको जग्गासम्बन्धी विवादको विषयमा अदालतको निर्णयबाट जानुपर्ने बताउनुभयो । उहाँ थप्नुहुन्छ, “हाम्रो चारवर्षे कार्यकालमा भवन हुनैपर्छ भन्ने रणनीति लिएका छौँ ।” नाफाले कलाकारहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

पहिले अनुसन्धानका काम हुन नसकेको तर कार्यक्रममुखी काम मात्र भएको बताउँदै उहाँले अबको नेतृत्वले राष्ट्रियस्तरमा कलाको विकास र विस्तारमा जोड दिने आफ्नो प्राथमिकतामा रहने प्रष्ट्याउनुभयो । उहाँ भन्नुहुन्छ, “कलाकारमा जति पीडा छ त्यो ममा पनि छ, कलाकारलाई के आवश्यक छ त्यो म स्वयंले पनि मनन गरेको छु ।” सरकारसँग समन्वयकारी भूमिका आफूले निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली कलाकारलाई विश्व प्रतिस्पर्धामा लैजान नयाँ नेतृत्व गम्भीर रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाली कलाकार विश्वमा हुने विभिन्न प्रतिस्पर्धामा प्रथम भएर पनि फर्किएका छन् तर राज्यले पनि विश्वमा नेपाली कलाको विकास गर्न कलाकारलाई प्राथमिकता राख्नु जरुरी देखिन्छ ।”

अहिले काठमाडौँ केन्द्रित कलाको विकास भएको सबैतिरबाट आएको गुनासो व्यवस्थापन गर्न कलामा पनि सन्तुलित विकासको आवधारणा प्रयोग हुनुपर्ने कर्माचार्यले बताउनुभयो । आइतबार हुने प्रासभाको पूर्णतापछि कस्ता कार्ययोजना बनाउने बन्ने नाफाले निर्णय लिने जानकारी उहाँले दिनुभयो । पहिलेदेखि नै नाफामा भएको समस्यालाई सुल्झाउनु आफ्नो नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती रहेको उहाँ बताउनुहुन्छ ।

तपाईंको नियुक्ति राजनीतिक भन्छन् नि भन्ने प्रश्नमा उहाँले आफू स्वतन्त्र कलाकार भएको नाताले नै कुलपतिमा नियुक्त भएको स्पष्ट पार्नुभयो । “पहिले जतिसुकै राजनीति गर्ने व्यक्ति नेतृत्वमा आए पनि उसले राजनीतिलाई बिर्सनैपर्छ”, उहाँले भन्नुभयो, “आफूले जति भने पनि अहिलेको परिप्रेक्ष्यमा जुनसुकै क्षेत्रमा पनि राजनीति नघुसेको त छँदै छैन । म पार्टीको कार्यकर्ता होइन, कलाको कार्यकर्ता हो ।” अहिलेको नाफा नेतृत्वमा आफूले भनेजस्तै व्यक्ति पाएकामा उहाँले सन्तुष्टि व्यक्त गर्दै साथीहबाट सहयोगको आशा राख्नुभयो ।
डा आचार्यको एकल कविता वाचन

सांस्कृतिक संस्थान (नाचघर) ले प्रत्येक महीनाको तेस्रो बिहीबार आयोजना गर्ने एकल कविता वाचनको नवौँ शृङ्खलामा डा भागवत आचार्यले बिहीबार आफ्ना दर्जनौँ कविता वाचन गर्नुभयो ।

आचार्यले ‘हत्केलामा लिएर समृद्धि’, ‘पूर्णिमा अर्थात् चन्द्रमाको बोधवृक्ष’, ‘जाउँ जाउँ गुरुजी’, ‘लाटकोसेरालाई अँध्यारो मन पर्छ’, ‘के अर्थ भो ?’, ‘जलकुम्भी’, ‘देश बन्ने कसोरी’, ‘मेरो लुम्बिनी’, ‘नसै काटिएपछि के हुन्छ’ , ‘बिर्खे दर्जीको विज्ञप्ति’, ‘सारङ्गीको धून’ र ‘आयो कहाँबाट यो’ भन्ने कविता वाचन गर्नुभएको थियो ।

मलाई सम्झना छ
तिमीले गरिखान भनी शुरुमा
हात माग्यौ र अधिकारको रुपमा हात पायौ
हेर्न पाइन भनी आँखा माग्यौ र दृष्टि पायौ

प्रत्येक कवितामा राष्ट्रवादको सन्देश बोक्नुभएका कविको कविता वाचनमा अनिल पौडेल, इन्दु अंशुलगायतले साथ दिनुभएको थियो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उहाँको कवितामा वास्तविक समाजको मूल्य र दृष्टिकोण प्रयोग भएको बताउनुभयो ।

आचार्यका वाचित कविताको समिक्षा गर्दै प्रा डा माधवप्रसाद पोखरेलले कविले लेख्ने क्रममा नेपाली मौलिक शब्दको बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताउनुभयो । “अहिले कविहरुले केही शब्द संस्कृतबाट पनि लिएको पाइन्छ, तर त्यो सामान्य पाठकका लागि उपयुक्त हुँदैन”, उहाँले भन्नुभयो । समालोचक रमेश शुभेच्छुले नेपाली विषयमा विद्यावारधि गर्नुभएका कविले धेरै कृति निकाल्नुभए पनि उहाँलाई चिनाउने कृति ‘मनको सम्बोधन’ शीर्षक कवितासङ्ग्रहले गरेको बताउनुभयो । आचार्यले लेख्नुभएको कविताभित्र मानवीय समवेदना र समसामयिकता झल्कने टिप्पणी उहाँले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.