३ नं प्रदेशको आधारपत्र सार्वजनिक

हेटौँडा, १३ पुस : प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले पहिलो आवधिक योजनाको आधारपत्र आज सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गर्नुभएको आधारपत्रमा तीव्र आर्थिक वृद्धि गरी गरीबी न्यूनीकरण गर्ने उद्देश्यसहित प्रदेशको विकासका पाँच प्रमुख उत्प्रेरकलाई आधार मानिएको छ । गुणस्तरीय ग्रामीण र शहरी पूर्वाधार, विशिष्टीकृत तथा व्यावसायिक कृषि, विशिष्टीकृत सेवा र मानव संसाधानको विकास, साना मझौला उद्योग तथा उद्यम र सम्पदामैत्री गुणस्तरीय पर्यटन प्रदेशले पहिचान गरेका उत्प्रेरक छन् ।

आधारपत्रमा सहकारी क्षेत्रको संस्थागत विकास, पुर्वाधार निर्माण तथा उत्पादन वितरण र सेवामा बढ्ने संलग्नताले आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सङ्घीय सरकारसँगको समन्वयमा अवलम्बन गरिने समष्टिगत आर्थिक नीतिले अपेक्षित लगानी, राजश्व र पूँजीगत खर्चमा वृद्धि हुने अनुमान आधारपत्रमा उल्लेख छ ।

आधारपत्रमा योजनाको कार्यान्वयन हुँदा प्रदेशले दुई अङ्कको औसत आर्थिक वृद्धिदर हासिल गर्ने र योजनाको अन्तिम वर्षसम्ममा प्रतिव्यक्ति आय दोब्बरभन्दा बढी हुने तथा मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनमा प्रदेशको हिस्सा ४० प्रतिशत नाघ्ने अनुमान गरिएको छ । शत्प्रतिशत जनतालाई खानेपानी सेवा उपलब्ध गराइने, वार्षिक औसत वृद्धिदरलाई ११ प्रतिशत पु¥याइने, ९५ प्रतिशतलाई विद्युत् सेवा उपलब्ध गराइने, औसत आयु ७५ वर्ष पु¥याइने जस्ता योजना समावेश गरिएको आधारपत्र मस्यौदा समितिका संयोजक तथा मस्यौदाकार चिकित्सक पिताम्बर शर्माले बताउनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राम्रो योजना आए पनि कार्यान्वयन पक्ष कमजोर भए विफल हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । आयोगका उपाध्यक्ष खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेपाली काङ्ग्रेसका नेता इन्द्र बाँनिया, नेकपाका सचेतक रामेश्वर फुँयाल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश सांसद जुनेली श्रेष्ठ, मुनु सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.