पौडेलको ‘शिक्षाका ती दिन’ विमोचन
काठमाडौँ, ८ पुस : शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ ।
हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त पुस्तक विमोचन गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री प्रश्रितले पुस्तकले नेपालको विगत पाँच दशक अगाडिको शिक्षण अवस्थालाई चित्रण गरेको बताउनुभयो । “पुस्तकले विगतको नेपालको शिक्षा प्रणालीलाई दर्शाएको छ”, उहाँले भन्नुभयो । पुस्तक आगामी पुस्तालाई पठनीय हुने उहाँको भनाइ छ ।
प्रश्रितले पुस्तक सार्वजनिक गर्दै विगत र वर्तमानमा शिक्षाको अवस्था र गुणस्तर कस्तो थियो भन्ने कुरालाई पुस्तकले गहनरूपमा व्याख्या गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न शिक्षा प्रणालीमा सुधारको खाँचो छ ।” लेखकले यसअघि नेपाल रेडक्रस सोसाइटीमा काम गर्दाका अनुभव समेटिएर लेखिएको पुस्तक ‘रेडक्रसकर्मी’ सार्वजनिक गर्नुभएको थियो ।
पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ ।
साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले समेटेको छ । एक सय पाँच शीर्षकको करीब २४० पृष्ठको पुस्तकभित्र लेखकले आफूले अध्ययन तथा अध्यापन गरेका तनहुँ जिल्लाका विद्यालयका इतिहासलाई संस्मरणात्मकरूपमा समावेश गर्नुभएको छ ।
एकदशकसम्म तनहुँका तत्कालीन मनोहर प्रावि, चन्द्रावती माध्यामिक विद्यालय र कालिका माविमा अध्यापनमा बिताउनुभएका सर्जक पौडेलले आफ्नो पुस्तकभित्र ‘जीवनका लागि शिक्षा कति महत्वपूर्ण छ’ भन्ने कुरालाई स्मरणात्मकरूपमा सूक्ष्मले व्याख्यासमेत गर्नुभएको छ ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार तीर्थराज वन्तले पुस्तकमा शब्द चयन एवं भाषाशैली सहज भएको बताउनुभयो । “भाषाशैलीले पुस्तकमा मिठासपन ल्याएको छ”, उहाँले भन्नुभयो ।
पुस्तकमाथि प्राज्ञ नमूना शर्मा र रमेश पौडेलले पुस्तकले इतिहासदेखि वर्तमानसम्मका शिक्षा अवस्थाका बारेमा पठनीयरूपमा पस्कन सफल भएको बताउनुभयो ।
पुस्तक प्रकाशन संस्था हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव रामकृष्ण धरेल, संस्थापक प्रतापराज वन्त तथा केन्द्रीय सदस्य दीव्यराज पौडेलले स्मरणात्मक लेखनमा गहन विषयलाई पुस्तकले समेटेको बताउनुभयो ।
पुस्तकका लेखक पौडेलले नेपालको शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ पुस्तक लेखेको बताउनुभयो । हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँले पुस्तकले नेपालको समग्र शिक्षाको अवस्थालाई चित्रण गरेकाले प्रकाशनमा ल्याइएको जानकारी दिनुभयो ।
