चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच सहमति
रामपुर, ४ पुस : चितवन राष्ट्रिय निकुञ्ज र माडी नगरपालिकाबीच बाली बिमा, क्षतिपूर्ति, नदीजन्य सामग्रीको प्रयोग लगायतका विषयमा ६ बुँदे सहमति भएको छ ।
निकुञ्ज र नगरपालिकाबीच आज भएको सहमति अनुसार यही पुस र आगामी माघमा नगरपालिकाले पाँच वटा नदीजन्य सामग्रीको प्रयोग गर्न पाउने छ । दुवै निकायबीचको छलफलबाट गिट्टी, बालुवा तथा ढुङ्गा प्रयोगमा ल्याउन मगुई, चन्द्रे, घाँघर, बगही र चितही खोलाको रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी प्रयोग गर्न पाउने निर्णय भएको हो ।
निकुञ्जबाट प्रभावित भएका र बालीनालीको क्षतिपूर्तिलाई थप ब्यवस्थित बनाउन बाली बिमाका लागि नगरपालिकाले पहल गर्ने तथा निकुञ्जले सहयोग गर्ने सहमति समेत भएको नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । रिउ खोलाको तिरमा निर्माण भइरहेको घाँसेमैदानको विषयमा निकुञ्ज, नगरपालिका र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञसँग छलफल गरी आपसी समन्वयमा काम गरिने भएको छ ।
हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रुपमा काम अगाडि बढाइने, क्रसर तथा वातावरणीय प्रभाव मूल्यांकन (ई.आई.ए.)का लागि थप छलफल गरिने नगर प्रमुख ढकालले जानकारी दिनुभयो । नगरपालिकाले श्रोत प्रयोग गर्न नपाउँदा सडक र ९ वटा पुल निर्माणमा समस्या भएको थियो । उक्त सहमतिबाट नगरपालिकालाई सहज हुने भएको छ ।
