चरन क्षेत्रको अभावले संकटमा भेडापालन व्यवसाय

ललित सिंह । चैनपुर बझाङ्ग, २ पुस : बझाङमा चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय संकटमा परेको छ ।
जिल्लाका सुर्मा, साईपाल, खप्तडछान्ना ,तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथली गाँउपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानियहरुको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले संकटमा पर्न थालेको छ । बर्ष भरि लेकवेसीँ गरेर भेडापालन व्यवसायमा लागी रहेका स्थानियहरु सामुदायिक वनको नाममा स्थानियले अनावश्यक दुःख दिन थाले पछी परम्परा देखी गर्दै आएको व्यवसाय संकटमा पर्न थालेको हो । चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नु परेको भेडापालकहरूको गुनासो छ ।
पछिल्लो समयमा जिल्लाका विभिन्न ठाँउमा स्थानियहरुले वन संरक्षणका गर्ने भन्दै चरिचरन गर्न नदिए पछि समस्या आएको हो । पहिले देखी भेडा चर्ने, हिड्ने र बास बस्ने ठाँउमा स्थानियहरुले अवरोध गर्न थाले पछि जिल्लाको काँडा, मेलविसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेला लगायतका ठाँउहरुका करिब ४ सय ५० परिवारले पालेका ४० हजार भन्दा बढी भेडा च्याङग्रालाइ चरन संकट भएको छ ।
सामुदायिक वनमा भेडा चराए बाफत शुल्क तिर्नु पर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन । उनीहरुले भनेको नमानु भएन सधै पैसा तिर्न सकिदैन । पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने सम्मका हर्कत गर्छन । यसरी पैसा तिर्दै जाने हो भने बर्ष भरिमा कमाईएको आधा हिस्सा सकिन्छ । अब यो व्यवसाय छोडनु भन्दा अर्को विकल्प नभएको साईपाल गाउपालिकाका मन बहादुर महतले बताए । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकोले भेडा च्याङग्रालाई बेसी झार्नु पर्ने बाध्यता हुन्छ ।
विरानो ठाँउमा भेडाबाख्रा चराउँदा राती बास बसेको ठाँउमा ढुङ्गाहान्ने, मदिरा खाएका समुह आएर दुःख दिने गरेको बुङगल नगरपालिका २ का किसोर धामीको हरुको दुखेसो छ । केहि बर्ष अघि एक जनाले एक सय पचास देखि दुई सय भन्दा बढी भेडापालन गर्दै आईरहेका थियौँ तर अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०/६० भेडापाल्दै आएको उनको भनाई छ । केहि वर्ष अघि सम्म यहाँका अधिकांस मानिसको पेसा नै भेडापालन थियो ।
अहिले यस पेशा प्रतिको आर्कषण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाहरुको बैदेशिक रोजगारको आर्कषणले भेडापालन व्यवसाय संकटमा परेको छ ।
