जनकपुरमा उत्तर प्रदेशका मुख्यमन्त्री

धनुषा, २६ मङ्सिर: भारत, उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम आइपुग्नुभएको छ ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उहाँ बिहान जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो । भिटी यूपीरे कलसाइनको निजी विमानबाट उहाँ जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको हो । आदित्यनाथलाई विमानस्थलमा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु राउतलगायत सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

जानकी मन्दिरमा पूजार्चना 

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आजै जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको छ ।

मुख्यमन्त्री योगीसहितको जन्तीलाई सङ्घीय सरकारका संस्कृतिमन्त्री अधिकारी र प्रदेश नं २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका मन्त्रीले स्वागत गर्नुभएको थियो । मुख्यमन्त्री योगी विमानस्थलबाट सीधै जानकी मन्दिर पुग्नुभएको थियो । उहाँले त्यहाँ जानकीको सामान्य पूजा गरेर मन्दिर परिक्रमासमेत गर्नुभएको थियो । उहाँ अहिले प्रदेश सरकारले आयोजना गरेको भण्डारा (विशेष भोजन) का लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

आज अपराह्न २ बजे प्रदेश नं २ का मुख्यमन्त्री राउत र मुख्यमन्त्री योगीले रङ्गभूमि मैदान बाह्रबिघामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । योगी आज अपराह्न ४ बजे फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.