रिया साहित्य स्रष्टा सम्मान सुवेदीलाई
काठमाडौँ, २२ मङ्सिर : साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वापत वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीलाई ‘रिया साहित्य स्रष्टा सम्मान’बाट आज सम्मानित गरिएको छ ।
एक सय नवौँ लक्ष्मी जयन्तीका अवसरमा रिया साहित्य समाज र रिलायन्स इन्टरनेसनल एकेडेमीले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माले उहाँलाई रु २० हजार पाँच नगदसहित दोसल्ला ओढाएर सो सम्मानबाट सम्मानित गर्नुभएको हो ।
सो अवसरमा सम्मानित व्यक्तित्व सुवेदीले यो सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको बताउनुभयो ।
यसअघि उक्त सम्मानबाट डा शैलेन्दु प्रकाश नेपाल, प्राडा कुमार बहादुर जोशी, प्राडा चुडामणि बन्धु, प्राडा महादेव अवस्थी, प्राडा वासुदेव त्रिपाठी र डा रामप्रसाद ज्ञवाली सम्मानित भइसक्नुभएको छ ।
कार्यक्रममा कविहरू बलराम दाहाल, नारायण निरासी, त्रिलोचन आचार्य, खेमराज पोखरेल, केशवराज पाठक, विशु बहादुर के.सी., गणेश मिश्र लगायतले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी सोही अवसरमा उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितासमेत गरिएको थियो । उपत्यकाका २४ विद्यालय सहभागि रहेको प्रतियोगितामा पायोनियर पब्लिक स्कुल, कपनकी छात्रा दीपिका ढुङ्गाना प्रथम, मनकामना बोर्डिङ स्कुल, जोरपाटीकी छात्रा प्रवीणा पौडेल द्वितीय, टाइमलाइन एकेडेमी, जोरपाटीकी छात्रा प्रेनिशा सञ्जेल तृतीय भएको सो समाजले जनाएको छ ।
