गण्डकीमा कृषि नमूना फार्म कार्यक्रम

कृष्ण दवाडी । कास्की, २२ मङ्सिर : माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका गोपाल पोखरेलले तीन वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ ।

भारद्वाज कृषि फार्म दर्ता गरेर शुरुमा १० वटा माउ भैँसीबाट पशुपालन थाल्नुभएको उहाँको व्यवसाय विस्तार गर्ने सोच छ तर लगानीका लागि पैसा छैन । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि उहाँ पोखरा–१२ माटेपानीको भेटेनरी अस्पतालमा गएर आफ्नो व्यावसायिक सोचअनुसार व्यवसाय उन्मुख फार्म स्थापनाको लागि निवदेन दर्ता गराउनुभयो ।

पोखरेलले भन्नुभयो, “व्यवसाय विस्तार गरेर जीविकोपार्जनका साथमा थोरै सङ्ख्यामा भए पनि रोजगारी दिने सोच छ तर लगानीको स्रोत छैन । सरकारले ल्याएको कार्यक्रम उपयुक्त लागेर व्यावसायिक योजना दर्ता गराएँ ।” गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको कृषिको नमूना (मोडल) फार्म कार्यक्रममा पोखरेलको मात्र होइन अन्य कृषक, फार्म तथा कृषि उद्यमीको समेत आकर्षण देखिएको छ ।

लामो समय कृषि व्यवसाय गरिरहेकादेखि कृषि कार्य गर्ने सोच बनाएकासम्म सरकारी कार्यक्रममा लोभिएका छन् । सरकारले ४०० को सङ्ख्यामा नमूना फार्म स्थापनाको लागि प्रस्ताव आह्वान गरेपछि त्यसका लागि पाँच गुणा बढी आवेदन परेको छ । नमूना फार्म सञ्चालन गरी किसानलाई पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमशील बनाउने सो कार्यक्रमको उद्देश्य छ । साना नमूना, व्यवसाय उन्मुख, व्यावसायिक र उद्यमी नमूना फार्मका लागि प्रस्ताव आह्वान गरिएकोमा एक हजार ९९८ ले परियोजना प्रस्ताव दर्ता गराएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको सो कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले गत असोज १२ गते एक महीना समय दिएर पहिलोपटक प्रस्ताव आह्वान गरेको थियो । पछि म्याद थपेर कात्तिक मसान्तसम्म आवेदनको समय दिइयो ।

पशुपालन, तरकारी, फलफूल, माछा तथा कुखुरालगायत कृषिका जुनसुकै व्यवसाय गरिरहेका तथा गर्न इच्छुक कृषक, कृषि उद्यमी तथा फार्मलाई परियोजनाको पहिलो वर्षको लागतको बढीमा सरकारको तर्फबाट ५० प्रतिशत अनुदान दिई त्यसलाई नमूना बनाउने योजना सरकारको छ । साना नमूना फार्म स्थापना गर्न पशुपालनतर्फ २१७, कृषिमा १६४, व्यवसाय उन्मुख पशुमा ५११ तथा कृषिमा २१२ प्रस्ताव दर्ता भएको छ । व्यावसायिकतर्फ पशुमा ३५२, कृषिमा ९४ तथा उद्यमी नमूना फार्ममा पशुमा ३१४ र कृषिमा १३४ रहेको मन्त्रालयका शाखा अधिकृत कमल पुनले जानकारी दिनुभयो । परियोजना पेश गर्नेमध्येमा अधिकांशले पशुपालनमा रुचि देखाएका छन् । पशुपालनको लागि प्रस्ताव पेश गर्नेको सङ्ख्या कृषिभन्दा बढी छ ।

अनुदान दिन सरकारले चालू आवमा रु ४० करोड बजेट विनियोजन गरेको छ जसमा कृषितर्फ रु २५ करोड, पशुपक्षी र माछापालनलाई रु १५ करोड छ । साना नमूना फार्मका लागि पहिलो वर्षको प्रस्तावित लागत रु १० लाख, व्यवसाय उन्मुखका लागि रु १० लाखभन्दा बढी तथा व्यावसायिक नमूना फार्मका लागि रु २५ लाखभन्दा बढी, उद्यमी नमूना फार्मलाई रु ५० लाखबढी लागत रहनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका सचिव श्रेष्ठका अनुसार नमूना फार्म खोलेपछि कृषकले उसको सम्पूर्ण पारिवारिक खर्चमा योगदान दिन सक्षम होस् भन्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पेशा कृषि भन्ने तर त्यसबाट उसको पारिवारिक खर्चमा १० प्रतिशत पनि योगदान नहुने अवस्थाको अन्त्य गरी कृषि पेशामै आत्मनिर्भर बनाउनु कार्यक्रमको उद्देश्य हो ।” उहाँका अनुसार रु १० लाखसम्मको साना नमूना फार्मको आवेदन सम्बन्धित जिल्लाका ज्ञान तथा विज्ञकेन्द्रबाट छनोट गरी सम्झौता गरिनेछ । त्यस्तै रु १० लाखमाथि व्यवसाय उन्मुख फार्मको कार्यान्वयन कृषि तथा मत्स्य विकास निर्देशनालयबाट र रु २५ लाख माथिका व्यावसायिक र उद्यमी फार्मको कार्यक्रम कार्यान्वयन मन्त्रालयले गर्ने बताइन्छ ।

प्रदेशका कृषि ज्ञान केन्द्र, भेटेरीनरी तथा पशु विज्ञ केन्द्रमा कृषकले बुझाएको उक्त आवेदनको अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । दर्ता भएका परियोजना प्रस्तावलाई कृषकले आफ्नो वडा कार्यालयमा भरेको कृषक वर्गीकरणको आधारमा मूल्याङ्कन गरी त्यसका आधारमा प्रस्ताव छनोट गर्ने तयारी मन्त्रालयको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.