स्वदेशी र मौलिक परम्पराको संरक्षण गर्नुपर्नेमा जोड
काठमाडौँ, ८ मङ्सिर : बौद्धिक सम्पत्तिसम्बन्धी कानून तर्जुमा गर्दा स्थानीय उत्पादन र राष्ट्रिय हितलाई हेक्का राख्न सुझाव दिइएको छ ।
बौद्धिक सम्पत्ति संरक्षण समाज, नेपालको छैठौँ वार्षिक साधारणसभामा सहभागी वक्ताले आफ्नो ट्रेडमार्गलाई स्थापित गर्न सकिएन भने स्वदेशी उत्पादित सामग्री विश्व बजारमा पु¥याउन नसक्ने पक्षलाई कानून निर्माणमै ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उनीहरुले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी विषय आफैँमा महत्वपूर्ण र जटिल भएको बताउँदै गुणस्तरीय उत्पादनलाई थन्क्याएर नक्कली वस्तुको बिक्री बितरण गर्ने प्रवृत्तिलाई रोक्न कानून कार्यान्वयनमा कडाइ गर्न जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले मुलुकमा दुई तिहाइ जनमतसहितको बलियो सरकार रहेकाले बौद्धिक सम्पत्तिको संरक्षणलगायतका महत्वपूर्ण कानून ल्याउन ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले मुलुकमा पेटेन्टका ७७, डिजायनका १५९ र ट्रेडमार्कसम्बन्धी चार हजार ७६२ बौद्धिक सम्पत्ति दर्ता भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी र मौलिक परम्पराको संरक्षण गर्नुपर्छ भन्नेमा सरकार दृढ रहेको छ ।” उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बौद्धिक सम्पत्तिसम्बन्धी कानून निर्माणको चरणमा रहेकाले अधिकतम राष्ट्रियहितमा हुने ढङ्गले सुझाव प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रियहितभन्दा विदेशी सङ्घसंस्थाले अघि सारेका प्रस्तावलाई हतारोमा स्वीकार गर्ने प्रवृत्तिले हामीलाई अप्ठ्यारोमा पारेको धारणा व्यक्त गर्नुभयो ।
वाणिज्यसम्बन्धी जानकार पोषराज पाण्डेले अबको भविष्य भनेको ज्ञान केन्द्रित अर्थतन्त्र भएका हुँदा त्यस अनुकूलका कानून नियम बनाउन सरकारलाई सुझाव दिनुभयो ।
पूर्वसचिव प्रतापकुमार पाठकले कानून र नीतिले नेतृत्व गर्ने कानून र कार्यक्रम आउन नसकेका कारण कतिपय कार्यक्रम सरकार परिवर्तन र कर्मचारीको सरुवासँगै हराएर जाने धारणा व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष कृष्ण ज्ञवाली र पूर्वअध्यक्ष भरत थापाले हाम्रा मौलिक अनुसन्धानको विकास र विस्तारका लागि सिर्जनात्मक सहकार्य आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
