पुरानो गुह्येश्वरीलाई चित्रमा उतार्न ‘कला कार्यशाला’

नारायण ढुङ्गाना । काठमाडौ, १ मङ्सिर : काठमाडौँको तारकेश्वर नगरपालिकाको पुरानो गुह्येश्वरी पुगेर चित्रकारले ऐतिहासिक र पुरातात्विक महत्वका दृष्य चित्रमा उतारे । स्वतःफूर्त रुपमा ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरी १५ कलाकारले यहाँका ऐतिहासिक महत्वका दृष्य चित्रमा उतारेका हुन् ।

नगरपालिका–५ का वडा सदस्य तथा कलाकार अनन्त आचार्यले यहाँको मुख्य मन्दिर मूलद्वारसहितको पुष्ठभूमिका आकर्षक दृष्य चित्रमा दुरुस्त पार्नुभयो । “यहाँका ऐतिहासिक महत्व हराउँदै छन्”, आचार्यले भन्नुभयो, “यस्ता चिजवस्तु चित्रमा भने पनि जोगाउनु पर्छ भनेर कार्यशाला गरेका हौँ ।”

उहाँका अनुसार यहाँ पुराना नेवार बस्ती थिए तर अहिले ती बस्ती हराउँदै गएका छन् । अन्य ऐतिहासिक तथा धार्मिक अवशेष तथा मूर्तिसमेत संरक्षणमा चुनौती भएकाले अस्तित्व जोगाई राख्न कलामार्फत चेतनाका लागि चित्र बनाइएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार स्वस्थानी कथामा समेत उल्लेख पुरानो गुह्येश्वरी भगवान् शिवसँग जोडिएको कथा छ । महादेवले एक पाइला गुह्येश्वरीमा टेकेर अर्काे पाइला गोसाइँकुण्डमा टेकेको भन्ने किंवदन्तीसमेत छ ।

यहाँ मल्लकालदेखि कै कलाकृति छन् । पछिल्लो समयमा यहाँको सौन्दर्यमा ह्रास देखिएको बताउनुहुन्छ, चित्र बनाउन पुरानो गुह्येश्वरी पुग्नुभएका कलाकार केशवराज खनाल । उहाँले पनि गुह्येश्वरीका दृष्य चित्रमा उतार्नुभयो । यहाँका पुराना नेवारी बस्तीमा अहिले नयाँ घर बनेकाले पनि सौदर्यमा ह्रास आएको उहाँले अनुभव सुनाउनुभयो ।

‘स्थलगत चित्रकला कार्यशाला’मा सहभागी उनीहरू चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्न त्यहाँ पुगेका हुन् । प्रकृतिलाई चित्रमा उतार्न कलाकारले अहिले विभिन्न क्षेत्रको छनोट गरी स्थलगत चित्रकला कार्यशालामा सहभागी हुँदै आएका छन् । “प्रकृतिमा यति धेरै कला हुन्छ, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर उतार्दा नयाँ अनुभूति हुन्छ, अनि नयाँ कुरा आउँछ”, कार्यशालाका अभियन्ता दिवेश प्रधानले भन्नुभयो ।

तारकेश्वर नगरपालिका ४ र ५ का वडाध्यद्वय नरेन्द्रदास श्रेष्ठ र वासुप्रसाद गौतमको समन्वयमा कलाकारले आज कला कार्यशाला आयोजना गरेका हुन् । कार्यशालामा पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले यसको महत्वबारे जानकारी गराउनुभएको थियो । अहिले चित्रकारले एउटा फेसबुक समूह बनाएर विभिन्न क्षेत्रमा पुगेर स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएका छन् । यसपटक चित्रकारले ११औँ शृङ्खला पुरानो गुह्येश्वरीलाई छानेका हुन् ।

शनिबारीय अभियान राकेशमान श्रेष्ठ र दिवेश प्रधानको कल्पना हो । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएका कलाकार यो समूहमा छन् । करीब ४०० सदस्य रहेको फेसबुक समूहमा हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ । त्यही मतको आधारमा ठाउँ छनोट हुने गर्छ । यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु, गुह्ेश्वरी, खोकना पुगेर उनीहरूले यसैगरी चित्र कोरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.