करार खेतीको आवश्यकता महसुस

काठमाडौँ, १ मङ्सिर : कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न करार खेतीको आवश्यकता महसुस गरिएको छ ।

कूल ग्राहस्थ उत्पादनमा करीब ३९ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई व्यावसायिक तथा यान्त्रिकरण गर्नका लागि करार खेतीलाई कानूनी रूप दिन आवश्यक देखिएको हो । भूमिको स्वामित्वलाई प्रतिनिधित्व गर्ने समूह र खेतीयोग्य भूमि तथा कृषि उत्पादन गर्ने वर्गका बीचमा गरिने सम्झौतालाई नै करार खेती भनिन्छ ।

विभिन्न कृषिजन्य वस्तु उत्पादनका लागि सम्बन्धित पक्षबीच मूल्य, उत्पादन गर्नुपर्ने मात्रा, समयावधि, गुणस्तरलगायत विषयमा लिखित वा मौखिक सम्झौता हुने गरेको छ । अहिले विश्वका अधिकांश मुलुकमा यस्तै प्रणालीको खेती हुन थालेको छ । यो व्यवस्था १९औँ शताब्दीको शुरुतिर संयुक्त राज्य अमेरिकाबाट शुरु भएको मानिन्छ ।

नेपालका विभिन्न भागमा जग्गा लिने र दिनेबीच समझदारीमा खेती गरिने भएकाले यसलाई कानूनी रूप दिन ऐन निर्माण गर्न लागिएको हो । बाँझो जमीन भाडामा लिएर उत्पादन गर्ने गराउने पक्षले कानूनी व्यवधानका कारण जग्गावालाबाट सजिलोसँग जमीन भाडामा पाउँदैनन् ।

विश्व परिदृश्य वकालत मञ्च र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा शुक्रबार आयोजित ‘नेपालमा करार खेतीको कानूनी आवश्यकता’ विषयक अन्तरक्रियामा कृषि तथा पशुपछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशमा अब समाजवादी अर्थतन्त्रको विकासका लागि पूँजी सञ्चय गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
भन्दै कृषि तथा पशुपछी विकास सचिव युवकध्वज जिसीले करार खेतीमा जग्गाधनीलाई उनीहरुको जमीन सुरक्षाको प्रतयाभूति हुने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले पश्चिमा देशमा कृषि उत्पादन करारमा आधारित रहेको चर्चा गर्नुभयो । विज्ञद्वय विनोद भट्टराई र दिवाकर पौड्यालले कृषि व्यवसायीलाई आफ्नो लगानीको सुरक्षित मुनाफाको व्यवस्था गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.