जोशीको पौभा कलायात्रा
काठमाडौँ, ३० कात्तिक : परम्परागत कला जगत्का एक हस्ती दीपककुमार जोशी मौलिक कलाकार हुनुहुन्छ । आजको पौभाकला जोशीको नामविना अधुरै हुन्छ । उहाँ यो कलाविधालाई आफ्नो मौलिकता लेपन गरी आफ्नो विशिष्ट स्थान बनाउन सफल हुनुभएको छ ।
ललितकला पत्रकार समाज(सोफाज)को २८औँ शृङ्खलाअन्तर्गत आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लो समयमा कला फरक फरक किसिमले परिवर्तन हुँदै आएको बताउनुभयो । “कला भनेको सुन्दरता हो”, उहाँले भन्नुभयो, “पौभाकला चाहिँ हाम्रो मौलिक कला हो । ”
सिद्धिमुनिको शाक्यको वीरेन्द्र कला सङ्ग्रहालयबाट सङ्कलित मञ्जुश्रीको पौभाचित्रबाट निकै प्रभावित बनाएर उहाँले सो शैलीको चित्र बनाउन शुरु गर्नुभएको हो । आफ्नो सीप र क्षमतालाई तिखार्न विसं २०३२ तिरदेखि प्रेममान चित्रकारसँग पौभा शैलीको अनुभव बटुली उहाँ कला सिर्जनामा स्वतन्त्र रुपमा लाग्नुभएको छ ।
विसं २०३७–३९ सम्म नेवारी परम्परागत कला तथा शिल्पकलामा काम गर्नु भई तत्कालीन नेपाल सरकार, तालीम सामग्री उत्पादन केन्द्रमा कार्यरत उहाँले नेपाल टेलिभिजनको उत्पादन डिजाइनको तालीमसमेत प्राप्त गर्नुभयो । नेपाल टेलिभिजनमा कला र कलाकारसम्बन्धी कार्यक्रममा वरिष्ठ उत्पादकको भूमिकामा छ वर्ष रहनुभएका उहाँले विसं २०६३ मा नेपाल हस्तकला महासङ्घमा कला शिक्षकको भूमिका निर्वाह गर्नुभयो । नेपाल हस्तकला महासङ्घको पौभा थाङ्का विभागको संयोजकसमेत रहनुभएका उहाँले निरन्तर रुपमा बौद्धकला र बौद्धधर्म दर्शनमा पनि प्रवचन दिँदै आउनुभएको छ ।
जोशी आफ्नो कला साधनामा मात्रै सीमित नभई विभिन्न सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ । आनन्द योग तथा ध्यान केन्द्रका संस्थापक उहाँका कृति नेपालका कला सङ्कलकका साथै प्रतिष्ठित स्थानमा पनि छन् । साथै जर्मनी, संयुक्त अधिराज्य, फिनल्याण्ड, फ्रान्स, सिङ्गापुर, ताइवान, जापान र चीनमा प िनउहाँका कृति सङ्गृहीत छन् ।
“विदेशमा जाँदा आधुनिक कलाभन्दा पौभा कला लिएर गए राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो यो कलालाई अझै बचाउनुपर्छ ।” यो काम गर्दा आफ्नो जीविकोपार्जनका साथै ज्ञान पनि हस्तान्तरण हुने जोशीले बताउनुभयो । कलाका क्षेत्रमा राज्यबाट सहयोग नभएको बताउँदै उहाँले यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
