चिनियाँ महोत्सव शुरु

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार काठमाडौँमा आयोजित आठौँ चाइना फेस्टिबल इन नेपालको उदघाटन गर्दै । साथमा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी, चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङगेङलगायत । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २७ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को शुभारम्भ गर्नुभएको ।

महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा भएको हो । सो अवसरमा संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् १९५५ मा कूतनीतिक सम्बन्ध स्थापना भएयता नेपाल चीन सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको र चीनले भूकम्पका बेला राहत प्रदान गर्नाका साथै पुनःनिर्माणमा सहयोग गरी नेपालीको मन जितेको बताउनुभयो ।

उहाँले नेपालका काठमाडौँ, ललितपुर र भक्तपुर अद्वितीय सम्पदाले भरिपूर्ण रहेको तथा नेपाल जातजाति, भाषा तथा जैविक विविधताले भरिपूर्ण भएकाले चिनियाँ पर्यटकलाई यहाँ भित्र्याउन सकिने बताउनुभयो । मन्त्री अधिकारीले यस्ता महोत्सवले पर्यटन गतिविधि बढ्न गई सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

सो अवसरमा चीनका संस्कृतिमन्त्री लो सु काङले नेपाल र चीन नदी तथा पहाडले जोडिएको तथा चीनको एक क्षेत्र एक मार्ग(बिआरआई)अवधारणाले यिनलाई झन् नजीक बनाउने विश्वास व्यक्त गर्दै सन् २००३ देखि शुरु भएको महोत्सवले आपसी आदानप्रदान र सहकार्यमा राम्रो प्रभाव पारेको बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन नेपालको दोस्रो ठूलो पर्यटकको स्रोत देश भएको बताउँदै नेपालमा सन् २०१७ मा पर्यटक २५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो । दुईदिने महोत्सवमा चिनियाँ राष्ट्रिय ब्यालेका कलाकारले आकर्षक नृत्यनाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.