कास्कीमा आलुखेती व्यावसायिकतातर्फ
वासुदेव पौडेल । पोखरा, २३ कात्तिक : धान भित्र्याउने क्रमसँगै कास्कीका हेमजा, अर्मला, कुँडहरसाथै भरतपोखरीको बाघमारा, चवादीलगायतका कृषकलाई यतिखेर आलु लगाउने चटारोले छोपिसकेको छ ।
धान थन्क्याइसकेका कृषकले आलुका लागि खेत जोतिसकेका छन् । बीउको जोरजाम गरिसकेका छन् । पछिल्ला वर्षमा आलु गाउँकै रुपमा ख्याति कमाइसकेको हेमजासाथै जिल्लाका विभिन्न स्थानमा यसको व्यावसायिक खेती शुरु भएको पाइन्छ । आलुको याम शुरु भएसँगै कृषकबाट बीउको माग अत्यधिक आउने गरेकोे कृषि सेवा केन्द्र मालेपाटनका नायब प्राविधिक सहायक उमा पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक महिनायता केन्द्रमा आलुको बीउका लागि कृषकहरू दैनिक आउन थालेका छन् । कृषकको आवश्यकताअनुसार केन्द्रबाट माग सङ्कलन भइरहेको छ । केन्द्रले बीउको गुणस्तरअनुसार मूल्य निर्धारण गरेको जानकारी दिँदै उहाँले पहिलो, दोस्रो र तेस्रो स्तरका आलुको बीउको मूल्य क्रमशः रु ८०, ७० र ६० निर्धारण गरिएको बताउनुभयो । जिल्लामा विभिन्न बीउ उत्पादन समूहमार्फत खरिद गरिएको बीउ वितरण गर्ने गरिन्छ । बीउको मूल्य भने महँगो भएको कृषकले गुनासो गरेका छन् ।
केही वर्षयता आलुको व्यावसायिक खेती गर्दै आउनुभएका पोखरा महानगरपालिका वडा नं २२ पुम्दी ढावाका कृषक राजकुमार गुरुङले कृषि कार्यालयबाट निर्धारण गरिएको आलुको बीउको मूल्य महँगो भएको बताउनुभयो । “उन्नत बीउको मूल्य नै रु ५०÷६० भन्दा कम हुनुपर्ने हो, बीउ महँगो हुँदा कृषक भने मर्कामा पर्ने भएका छन् ।” कृषकले उन्नत जातको बीउका लागि कार्यालयसँग धेरै विश्वास गर्ने भए पनि पटक पटक कमसल बीउ पर्दा मर्कामा पर्ने गरेको गुरुङको भनाइ छ । आलुखेतीबाटै मनग्य आम्दानी हुँदै गएपछि हेमजालगायतका स्थानमा व्यावसायिक रुप लिँदै गएको आलुखेती प्रत्येक वर्ष विस्तार हुँदै गएको कृषि कार्यालयले जनाएको छ ।
आलु गाउँ हेमजामा यस खेतीको प्रवद्र्धन गर्न आलु खनेसँगै प्रत्येक वर्ष आलु महोत्सवसमेत गर्ने गरिएको छ । महोत्सवस्थलमा आलुको पहाड जस्तै राखिएको थुप्रोको अवलोकनसाथै बिक्री वितरण, विभिन्न प्राविधिक सल्लाह एवम् आलुबाट बन्ने विविध परिकारको स्वाद लिन पाउनु महोत्सवको विशिष्टता हो ।
लगभग एक दशकअघि पनि स्थानीय प्रविधिबाट आलु फलाएर आम्दानी गर्ने गरिएको हेमजामा आधुनिक प्रविधिको प्रयोगसँगै यसको बजारीकरण गर्न पोखरा बागलुङ राजमार्ग निकै सहयोगी बनेको यहाँका स्थानीयवासी बताउँछन् ।विगतमा डोकोभरि आलु राखेर बिक्री गर्न पोखराका विभिन्न स्थान पुग्ने हेमजावासी अहिले भने घर घरबाटै बिक्री हुन थालेपछि अझै उत्साहित बनेका छन् ।
लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रोङबाट आउने रातो डल्ले आलुको खेतीबाट यहाँ आलुखेतीको शुरुवात भएको पाइन्छ । विसं २०४५÷४६ सालदेखि केही मात्रामा आलुखेती विस्तार भई २०५४÷५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गरेपछि यहाँको आलुखेतीले अझै व्यावसायिक रुप लिएको हो ।
हेम्जामा मात्रै आलुको उत्पादकत्व प्रतिहेक्टर १८ देखि २० टनसम्म छ भने लगभग ४०० देखि ४२५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यहाँ वार्षिक रु २० देखि २१ करोडसम्मको कारोवार हुने गरेको छ । हेमजासहित कास्कीका विभिन्न स्थानमा एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजिरेलगायत आलुका प्रजाति लगाउने गरिएको कृषक रेशम सुवेदीले जानकारी दिनुभयो ।
जिल्लामा आलुखेतीको पर्याप्त सम्भावना रहेको बताउँदै उहाँले यसको व्यावसायिक विकासका लागि राज्यले कृषकलाई प्रोत्साहित गर्ने किसिमका कार्यक्रम ल्याउनु जरुरी छ भन्नुभयो । वास्तविक कृषकले राज्यबाट पाउने अनुदान पाउन नसकेको उहाँको गुनासो छ ।“आर्थिक आयआर्जन गर्न व्यावसायिक आलुखेती महत्वपूर्ण माध्यम बन्न सके पनि राज्यले कृषकलाई यसतर्फ अझै आकर्षित गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “बीउ महँगो हुने, वास्तविक कृषकले अनुदान नपाउनेजस्ता बेथितिको तत्काल अन्त्य गर्नु अपरिहार्य छ ।”
