साहित्यकार सुवेदी र अधिकारी सम्मानित
भद्रपुर, २१ कात्तिक : देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीमा आज साहित्यकारलाई सम्मान गरेको छ । सम्मानित हुने साहित्यकारमा होम सुवेदी र विरही अधिकारी रहनुभएको छ ।
यसै वर्षबाट शुरु गरिएको मनोरथ स्मृति काव्य कृति पुरस्कारबाट नगद रु २० हजार र सम्मानपत्रले साहित्यकार होम सुवेदीलाई पुरस्कृत गरिएको हो । त्यसैगरी समितिले प्रत्येक वर्ष साहित्यिक स्रष्टालाई सम्मान गर्दै आएको छ । सो सम्मानबाट विरही अधिकारी सम्मानित हुनुभएको छ । उहाँलाई दोसला र सम्मानपत्रले सम्मान गरिएको छ ।
सामुदायिक मुना भवन देवकोटा चोक भद्रपुर–९ मा आज बिहान भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविद् चुडामणि रेग्मी, तारा विविध, पूर्व न्यायाधीश नन्दप्रसाद पौडेल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाललगायतले देवकोटाको शालिकमा माल्यार्पण गर्नुभयो ।
कार्यक्रममा भद्रपुर–९ बाट एसइइ परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल अर्पण थापा र आशीष ढकाललाई नगद रु तीन हजार ५०० का दरले सम्मान गरिएको थियो । समितिका अध्यक्ष शुम्भु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल कविता प्रतियोगितासमेत गरिएको थियो ।
