धानखेतीको विकास र विस्तार गरिने

राजापुर, १६ कात्तिक : नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रमणि खनालले बर्दियामा धानखेतीको विकास र विस्तार गरिने बताउनु भएको छ ।

बुढान सहकारी संस्था लिमिटेड र अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रले आयोजना गरेको धान उत्पादन प्रशोधन तथा बजारीकरणसम्बन्धी कार्यक्रममा उहाँले बर्दियाका आदिवासी थारू जाति कृषिमा सफल भएका कारण पनि धानखेती सहज हुने बताउनुभयो ।

राजापुरलाई धान सुपरजोनका रुपमा विकास गरिएको बताउँदै मन्त्री खनालले बारबर्दियालगायतको क्षेत्रलाई पनि बास्नादार र मसिनो धान उत्पादन गरिने क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जग्गाको चक्लाबन्दी गरी कृषिका आधुनिक प्रविधि भित्र्याएर कम लागतमा बढी मुनाफा हुने कृषि व्यवसाय गर्न गराउन उक्त सहकारी संस्थालाई सुझाव दिनुभयो ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रको सहयोगमा बुढान कृषक बहुउद्देश्य सहकारी संस्था मसिनो, लामो र बास्नादार धान उत्पादन, प्रशोधन र बजारीकरण गर्नका लागि अगाडि बढेको संस्थाका अध्यक्ष नवराज सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.