बाह्र वर्षपछि सम्झिए हुमागाईं

काठमाडौँ, २८ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती एकाएक भावुक बन्नुभयो । उहाँका आँखा रसाए । अनि गला अवरुद्ध पार्दै उहाँले आफ्ना समकालीन साहित्यकार साथी जनकप्रसाद हुमागाईंलाई सम्झिनुभयो, “जनकजी, सरल जीवनशैली भएका मिलनसार तर विचारमा प्रतिबद्ध लेखक हुनुहुन्थ्यो । आज उहाँसँग सहयात्रा गरेका क्षणको सम्झनाले मलाई भावुक बनाएको छ । आँखा अगाडि उहाँको तस्वीर देख्दा मैले मन थाम्नै सकिनँ ।”

जनवादी साहित्यकार हुमागाईंको स्मृतिमा सांस्कृतिक संस्थानसँगको सहकार्यमा जनकप्रसाद हुमागाईं स्मृति कोषद्वारा उहाँको ८२औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘साङ्गीतिक कार्यक्रम’मा कार्यक्रमका परिकल्पनाकार माधव प्रधानले हुमागाईंका सिर्जना र उहाँका योगदानको स्मरण, संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

समालोचक डा हेमनाथ पौडेल, चित्रकार सुष्मा राजभण्डारी र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले हुमागाईंको साहित्यिक, सामाजिक एवं सांस्कृतिक योगदानबारे चर्चा गर्नुभयो । हुमागाईं सँगसँगै काम गर्नुभएका लेखक भक्तबहादुर पण्डितले हुमागाईंसँगको स्मृतिलाई ताजा बनाउनुभयो । कोषका अध्यक्ष तथा हुमागाईंका छोरा पवन हुमागाईंले पिताको स्मृतिमा कोष बनाएर छात्रवृत्ति वितरण गर्नेजस्ता कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा जेबी टुहुरे, रामकृष्ण दुवाल, साजन राई, कुष्मिता दर्लामी, आकाश थापा, लक्ष्मी गुरुङ र दीपक खतिवडाले हुमागाईंद्वारा रचित सात गीत प्रस्तुत गर्नुभएको थियो । काभ्रेपलाञ्चोकको बल्थलीमा जन्मिनुभएका हुमागाईंको १२ वर्षअघि रक्त अर्बुद रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.