कर्मयाेगी साहित्यकार जगत् प्रेक्षित्’काे विद्यावारिधि उपाधिसम्मकाे यात्रा

काठमाडौं । डा. सीताराम खतिवडा । साहित्यकार जगत् उपाध्याय प्रेक्षितको जन्म वि. सं. २०२५ चैत्र २७ गते भेरी अञ्चलको दैलेख जिल्लाको बडलम्जी-६ ,नयाँ गाउँमा भएको हो । हाल काठमाडौं कपन-१, आदर्शनगरमा उपाध्यायको बसोबास रहेको छ । पिता ज्यौतिष पण्डित स्व. हरिप्रसाद उपाध्याय तथा माता स्व. मानकुमारी उपाध्यायका जेठा ज्यो.पं. मुक्तिप्रसाद उपाध्याय, माहिला पं. खगेन्द्रप्रसाद उपाध्याय, साँहिला दैलेख भैरवी-३ का वडाध्यक्ष भक्तिप्रसाद उपाध्याय, काँहिला ने. सं. वि. का सहप्रा. डिल्लीप्रसाद पाण्डेय र कान्छा पुत्रका रूपमा जगत् उपाध्यायको जन्म भएको हो । उपाध्यायका दिदी कृष्णाकुमारी उपाध्याय रेग्मी र बहिनी कुन्तीकुमारी उपाध्याय नेपाल पनि हुनुहुन्छ । उपाध्यायको विवाह तारकाङ्, सिन्दूरेचौर टुनिबाेटकी विष्णुप्रभा सापकोटासँग भएको छ । वहाँका सन्तानहरुमा एक छाेरी डा. अनुपमा पाण्डेय र छोरा मेकानिकल इन्जिनियर विवेक पाण्डेय हुनुहुन्छ ।
उपाध्यायले प्रारम्भिक शिक्षा कखरा र बाह्रखरी दैलेख लम्जीस्थित घरमा आफ्नै पिताजीबाट प्राप्त गर्नुभएको हो भने प्राथमिक तहमा केही समय तात्कालिक नेराप्राविमा पनि अध्ययन गर्नुभयो । २०३२ साल वैशाखमा आमा मानकुमारी उपाध्यायको असामयिक देहावसान भएपछि एक वर्षकी बहिनी, ५/६ वर्षका उपाध्याय र वहाँका अन्य चार दाजुभाइ टुहुरा हुन पुग्नुभयो । त्यसपछि उपाध्यायका कठोर संघर्षका दिनहरु सुरु भएको देखिन्छ । त्यसपछि विद्यालयको पढाइ लथालिङ्ग भयो भने घरको स्थिति पनि भताभुङ्ग हुनपुग्यो । उपाध्यायले आफ्नै घरमा गुरुकुलीय पद्धति-अनुसार वैदिक सनातन धर्म र संस्कृतिसँग सम्बद्ध वेद, रुद्री, चण्डी, श्राद्धविधि, सत्यनारायणको पूजाविधि लगायतका कर्मकाण्डका विधिहरु पनि आफ्ना पितासँग अध्ययन गर्न थाल्नुभयो । पिताजीबाट सस्वर वेदको अध्ययन गर्न थाल्नुभएका उपाध्याय अत्यन्त तेजिलो बुद्धि भएका हुनुहुन्थ्यो भन्ने कुरा वहाँले एकदिनमा संस्कृतका १००भन्दा बढी श्लोक कण्ठ गर्न सक्नु भएबाट सिद्ध हुन्छ । यसरी घरायसी कामकाजका साथै अध्ययनलाई पनि अघि बढाउन गाह्राे भएकाले १४/१५ वर्षको उमेरमा केही अग्रजहरुको परामर्शमा भारतको अयोध्यास्थित बडाखटला, हनुमान कुण्डस्थित हयग्रीव रामानुज संस्कृत महाविद्यालयको छात्रावासमा बसेर उत्तरमध्यमासम्म संस्कृत साहित्य मूल विषय लिएर औपचारिक अध्ययन पूरा गर्नुभएको छ । त्यसको एकवर्षपछि शास्त्री पढ्नका लागि नेपालको दाङस्थित महेन्द्रसंस्कृत-विश्वविद्यालयमा प्राचीनन्याय र नेपाली मूल विषय लिई अध्ययन सुरु गर्नुभयो । साहित्यशास्त्रको विद्यार्थी दर्शनमा प्रवेश गर्नुका पछाडि दर्शनशास्त्रका विशिष्ट विद्वान् प्रा. रामेश्वर शर्मा पोखरेलको प्रेरणा रहेको कुरा स्वयं उपाध्यायले बताउनु भएको छ ।
२०४५/०४६ सालतिरको राजनैतिक आन्दोलनका कारण शास्त्री तहको नतिजामा केही ढिलाइ भएका कारण उपाध्यायले सल्यानको स्यानीखालस्थित लक्ष्मी माध्यमिक विद्यालयको पहिलो माध्यमिक दरबन्दीको शिक्षकका रुपमा पढाउँदै समय- समयमा प्रशासनिक जिम्मेवारी पनि वहन गर्दै महेन्द्र संस्कृत विश्वविद्यालय दाङ्बाट आचार्य तहको पहिलो र दोस्राे वर्षको परीक्षा पनि उत्तीर्ण गर्नुभयो । त्यसपछि सुर्खेतबाट माध्यमिक तहको नेपाली विषयको शिक्षकको परीक्षा दिएर आचार्य तहको तेस्राे वर्षको अध्ययनका लागि काठमाडाैंतिर प्रस्थान गर्नुभयो । सल्यानको जागिर छाडेर काठमाडौंतिर लागेपछि नेपाली विषयमा एम्.ए. (स्नातकाेत्तर) र बी.एड.. पनि गर्नुभयो । त्यसपछि अरनिको माध्यमिक विद्यालयमा नेपाली शिक्षकका रुपमा काम गर्न थाल्नुभयो । वाल्मीकि विद्यापीठमा आएपछि प्रा. शिवहरि मरहट्टा, प्रा. विद्यानाथ उपाध्याय, प्रा. डा. दीर्घराज घिमिरे जस्ता विशिष्ट विद्वान् गुरुहरुसँग अध्ययन गर्ने मौका पाउनु भएका उपाध्यायले आचार्य तहमा सर्वप्रथम स्थान समेत प्राप्त गर्नुभयो । नेपाली एम्.ए. गर्दा पनि नेपाली साहित्यका विशिष्ट विद्वानहरु प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु, प्रा. घनश्याम कॅडेल, प्रा.डा. बल्लभमणि दाहाल, प्रा.डा. मोहनहिमांशु थापा, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा. मोहनराज शर्मा, प्रा. ठाकुर पराजुली, प्रा. राजेन्द्र सुवेदी, प्रा.गोपीकृष्ण शर्मा, प्रा.डा. केशव सुवेदी जस्ता गुरुहरुको सामीप्यमा स्नेहपूर्वक नेपाली साहित्यको अध्ययन गर्नुभयो ।
आचार्य तह उत्तीर्ण गरेपछि वि.सं. २०५० मङ्सिर २९ गतेदेखि वाल्मीकि विद्यापीठमा प्राचीनन्याय विषयको प्राध्यापन सुरु गर्नुभएका उपाध्यायले सुर्खेतमा स्थायी मावि शिक्षकमा नाम निस्किएता पनि त्यसलाई वास्ता गर्नुभएन । प्रगतिशील धाराका पक्षपाती भएका कारण कतिपय कठिनाइहरुलाई पार गर्दै आफ्नो पेशामा रमाउनु भएका उपाध्यायले त्रि.वि. अन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पसमा लगभग १० वर्षजति नेपाली विषय पनि प्राध्यापन गर्नुभयो । विशिष्ट प्रतिभाका धनी उपाध्याय सेवा-प्रवेशको ११ वर्षमै संस्कृत विश्वविद्यालयमा सहप्राध्यापक हुनुभयो भने यसै समयमा वाल्मीकि विद्यापीठको सहायक प्राचार्य पनि हुनुभयो । सेवा प्रवेशको १७ वर्षमै प्राध्यापक बन्न सफल हुनुभएका उपाध्याय साढे सत्र वर्षमा वा सबैभन्दा कम उमेरमै नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिव २०६८ देखि २०७२ सम्म पनि हुनुभयो । ने.सं.वि.काे कुलसचिवको कार्यकाल सफल रुपमा सम्पन्न गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानकाे सदस्य सचिव २०७५ देखि २०७९ सम्म भएर पनि कार्य गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिव हुँदा आयुर्वेद केन्द्रीय विद्यापीठको स्थापना र सञ्चालन, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको स्थापना र सञ्चालन, आयुर्वेद केन्द्रीय विद्यापीठको भवनको निर्माण लगायतका अनेकौं महत्त्वपूर्ण ऐतिहासिक कार्यहरु सम्पन्न गर्नुभयो । नेपाल प्रज्ञा-प्रतिष्ठानको सदस्य सचिव हुँदा प्रतिष्ठानका अन्य पदाधिकारीहरुको समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठानको मूल भवन सबलीकरणको पूर्णता, महाकवि देवकोटा सङ्ग्रहालयको निर्माण, अनेकौं राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका गोष्ठी, सम्मेलन, चारसय जति पुस्तकको प्रकाशन, नेपाली बृहत् शब्दकोश’ लाई विद्युतीय अनुप्रयोगमा लैजाने, ६४ हजार शब्दको शब्दकोशलाई विस्तार गरी ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, प्रज्ञालाई प्रविधिसँग जोड्ने र विभिन्न क्षेत्रमा ३ सयभन्दा बढी अनुसन्धान कार्यहरु लगायतका ऐतिहासिक महत्त्वका कार्यहरु पनि गर्नुभयो । जहाँ -जहाँ आफूले कार्य गर्ने अवसर पाउनुभयो त्यसमा कर्तव्यनिष्ठ भएर योजनाबद्ध रूपमा संस्थाको सर्वोपरि हितलाई केन्द्रमा राखेर आफ्नो जिउज्यानको समेत पर्वाह नगरी कार्य सम्पन्न गर्नुभयो ।
निरन्तर रुपमा साहित्य सेवामा लाग्नुभएका उपाध्याय दैलेखी सेवा समाज, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, भेरी अञ्चल प्रगतिशील समाज, दैलेख- काठमाडौं सम्पर्क मञ्च, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालय, कपन बहुमुखी क्याम्पस, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, साहित्य सन्ध्या, क्यानभास इन्टरनेशनल कलेज लगायत अन्य शैक्षिक, सामाजिक, पेसागत, वैचारिक, साहित्यिक, भाषिक आदि तीन दर्जनभन्दा बढी संघ संस्थामा संलग्न हुनुका साथै ती संस्थासँग सम्बद्ध प्रकाशनहरुको सम्पादनमा समेत वहाँको ठूलो योगदान रहेको देखिन्छ । त्यसैगरी नेपाल समाचारपत्र, छलफल साप्ताहिक, पौरख राष्ट्रिय मासिक जस्ता समाचार प्रधान र वैचारिक पत्रिकाका साथै ऋतम्भरा, गन्तव्य, भेरी-सन्देश, ज्वाला- सन्देश, तारापुञ्ज, द ह्युमानिष्ट, साहित्य-सन्ध्या, छलफल, आन्वीक्षिकी, आलोक, बालकोसेली, प्राइम प्रोजेक्सन, परोपकार- सन्देश लगायत दुई दर्जनभन्दा बढी साहित्यिक, शैक्षिक, वैचारिक र पेसागत पत्र-पत्रिकाको सम्पादन समेत गर्नुभएको छ । त्यसै गरी थुप्रै स्मृतिग्रन्थहरुको सम्पादन र प्रकाशन पनि गर्नुभएको छ । काठमाडौं सहरको महङ्गाइमा जीवनधान्नका लागि थुप्रै शैक्षिक संस्थामा हेल्मेट टिचरका रुपमा दौडिनुपरेको परेको तीतो यथार्थ साहित्यकारको रहेको छ । वहाँले वाल्मीकि विद्यापीठमा न्यायदर्शन, रत्नराज्यलक्ष्मी क्याम्पस, प्रसादी एकेडेमी, परोपकार उच्च माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, प्राइम कलेज, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, युनिभर्सल एकेडेमी, क्यानभास इन्टरनेशनल कलेज र नमुना कलेज अफ फेसन टेक्नोलोजी आदि संस्थामा विभिन्न समयमा नेपाली विषय अध्यापन गराउनु भएको देखिन्छ ।
त्यस्तै विभिन्न पत्रिकामा लामो समयसम्म स्तम्भकारका रुपमा पनि कार्य गर्नुका साथै रेडियो नेपालबाट प्रसारित मानवतावादी रेडियो शिक्षा कार्यक्रमका लागि मानवतावादी दर्शन र शिक्षामा आधारित ५६ ओटाभन्दा बढी आलेख समेत लेख्नु भएको छ । दर्शन, साहित्य, संस्कृति, भाषा व्याकरण र राजनीतिसँग सम्बद्ध दर्जनौं लेखरचनाका साथै केही अनुसन्धान परियोजनाहरु पनि सम्पन्न गर्नुभएको छ । सृजना, समालोचना, अनुवाद, पाठ्यक्रम आदिसँग सम्बद्ध डेढ दर्जन जति र कतिपय स्थूलकाय सम्पादित ग्रन्थको प्रकाशन गर्नुका साथै सयौं फुटकर रचना र अन्य कतिपय पुस्तकहरु प्रकाशनको पर्खाइमा रहेका छन् । २०४५ सालमा ‘आमोद’ पत्रिकामा ‘मेरो चाहना’शीर्षकको कविता प्रकाशन गर्दै नेपाली साहित्यमा प्रवेश गर्नुभएका उपाध्यायका कविता, खण्डकाव्य, बालकविता, बालकथा, हाइकु र निबन्धलगायतका विधामा नौवटा सिर्जनात्मक कृति प्रकाशित भएका छन् । त्यसैगरी समालोचना, इतिहास, दर्शन, अनुवाद र पाठ्यपुस्तकसम्बन्धी १० वटा कृति प्रकाशित छन् । विभिन्न विषयका डेढ दर्जनभन्दा बढी ग्रन्थ, पुस्तक तथा पत्रिकाहरुको पनि सम्पादन गर्नुभएको पाइन्छ । साथै वहाँले दर्जनौं शोधार्थीलाई विद्यावारिधि गराइसक्नुभएको छ । पचासौं शोधप्रबन्धको मूल्याङ्कन गरिसक्नुभएको र सयौं शोधार्थीलाई अनुसन्धान पद्धति सम्बन्धी प्रशिक्षण पनि प्रदान गर्नुभएको छ ।
वर्तमानमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा न्याय विभागको अध्यक्षका रुपमा रहनुभएका प्राध्यापक उपाध्यायले विभिन्न पदक पुरस्कार पनि प्राप्त गर्नुभएको छ । महेन्द्र विद्याभूषण (२०५०), पण्डितराज सोमनाथ पुरस्कार (२०५२) राष्ट्रिय शिक्षा दिवस पदक (२०६४), मुकुन्दनाथ भट्टराई निबन्ध पुरस्कार (२०४८) लगायतका अन्य विभिन्न पुरस्कार तथा
सम्मान प्राप्त गर्नुभएको छ ।
यिनै विविध परिपञ्चका कारण आफ्नाे विद्यावारिधि पूरा गर्न केही विलम्ब भएको उपाध्यायको स्वीकारोक्ति छ । विभिन्न प्रशासनिक, सामाजिक, पेसागत, वैचारिक आदि कारणले समयको व्यवस्थापन गर्न कठिनाइ भएपनि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य-सचिवबाट निवृत्त भएपछि पुनः विद्यावारिधिका लागि लाग्नु भएका उपाध्यायले स्वास्थ्य प्रतिकूलताका बावजुद् २०८३ भाद्र ८ गते सोमबार आफ्नो विद्यावारिधिको अन्तिम वाक्परीक्षा सम्पन्न गरी उपाधि प्राप्त गर्न सफल हुनुभएको छ । नेपाली भाषासाहित्य र संस्कृत न्यायदर्शनशास्त्रका समेत अध्येता रहनुभएका उपाध्यायले न्यायदर्शनसम्मतशाब्दबोधप्रक्रियाया भाषावैज्ञानिकं परिशीलनम् (न्यायदर्शनसम्मत शाब्दबोधप्रक्रियाको भाषावैज्ञानिक परिशीलन) शीर्षकमा अनुसन्धान गर्नुभएको हाे । यस अनुसन्धानमा उपाध्यायले पौरस्त्य परम्परामा वैदिक वाङ्मयका ऋग्वेददेखि लिएर उत्तरवर्तीकालका न्यायेतर आस्तिक र नास्तिक दर्शनशास्त्रका साथै व्याकरण र साहित्यमा समेत प्रतिपादित शब्द, अर्थ र तिनका बिचको सम्बन्ध, तिनको शाब्दबोध प्रक्रिया, न्यायदर्शनमा शब्द र अर्थ तथा तिनका बिचको सम्बन्ध, शब्दको प्रमाणता, शाब्दबोधको प्रक्रिया, आधुनिक भाषाविज्ञानका दृष्टिले शाब्दबोधको विश्लेषण, न्यायका शाब्दबोध प्रक्रियाको नेपाली भाषाको संरचनात्मक स्वरूपमा प्रभाव विश्लेषण लगायतका विषयहरु समेट्नु भएको छ । साथै शोधमा पूर्वीय न्यायदर्शनको शाब्दबोध प्रक्रियालाई ससुर, फिलमोर, नोम चोम्स्की लगायतका पाश्चात्य भाषावैज्ञानिकका मान्यता तथा नेपालका भाषाविद् चूडामणि बन्धु लगायतका विचारसँग जोडेर अध्ययन गरिएको पाइन्छ ।
वहाँको यस शोधकार्यको निर्देशन ने. सं.विका पूर्व उपकुलपति प्रा. शिवहरि मरहट्टाज्यूले गर्नुभएको छ भने शोधविशेषज्ञमा ने.सं.वि.का प्रथम शिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्याय भट्ट र वरिष्ठ भाषाशास्त्री प्रा. डा. चूडामणि बन्धु रहनुभएको छ । बाह्य विशेषज्ञका रुपमा पौरस्त्य दर्शनका विशिष्ट विद्वान् प्रा.डा. दीर्घराज घिमिरे र प्रा. पद्मप्रसाद भट्टराई रहनुभएको छ । उपाध्यायले शोध लेखनका सन्दर्भमा शाब्दबोधसम्बन्धी लेखनको परिष्कारमा प्रा. पद्मप्रसाद भट्टराईले ठूलो प्राज्ञिक सहयोग गर्नुभएको कुरा बताउनुभएको छ ।
मुहार पुस्तिका मार्फत् बधाई दिंदै छन्दकवि एवं समालोचक प्रा.डा. देवी नेपालले लेख्नुभएको छ- आजभन्दा झन्डै डेढ दशक अगाडि नै प्राध्यापक बनिसक्नुभएका उहाँले प्राज्ञिक परिपक्वता हासिल गरिसकेपछि मात्र प्राप्त गर्नुभएको यस र उपाधिको विशेष अर्थ छ जस्तो लाग्छ । उहाँले गर्नुभएको यस अध्ययनले न्यायदर्शन, शाब्दबोधप्रक्रिया र आधुनिक भाषाविज्ञानका क्षेत्रमा केही नयाँ दिशानिर्देश गरेको छ । हाल संस्कृत भाषामा लेखिएको यस शोधप्रबन्धलाई नेपाली र अंग्रेजी भाषामा समेत प्रकशन गर्ने हो भने यसले विश्वको शैक्षिक तथा प्राज्ञिक जगत्मा नै विशेष योगदान प्रदान गर्ने छ । त्यसै गरी वरिष्ठ संस्कृतिविद् एवं ने.प्र.प्र.का पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले मुहार पुस्तिकामा नै उपाध्यायको पुर्ख्यौली थलोका बारेमा उल्लेख गर्दै वहाँका पुस्ताहरु दुल्लुका राजपरिवारसँग सम्बन्धित भएको र वहाँकै वंश परम्पराका लुतु पाध्याले गोरखा र दुल्लुको सन्धि गराएपछि नेपाल एकीकरणको अभियान पश्चिमतिर अधि बढ्न सकेको कुरा उल्लेख गर्नुभएको छ । यस्तो गर्विलो इतिहास बोकेका र पौरस्त्य वाङ्मयका धुरन्धर विद्वान् उपाध्याय नेपालको उज्ज्वल ताराको रूपमा उदियमान् हुनुहुन्छ भन्ने गुरुङको भनाइ रहेको छ । अन्त्यमा यस्ता विविध प्राज्ञिक प्रशासनिक गुणहरुले युक्त हुनुभएका मेरो विद्यावारिधि शोधप्रबन्धका विशेषज्ञ समेत रहनुभएका आदरणीय गुरु प्रा.डा जगत् प्रसाद उपाध्याय प्रेक्षितको सुदीर्घ साहित्यिक यात्रा एवं शरदशतम् आयुष्यकाे कामना गर्दै पुनः गुरुवरका समीपमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
