प्रतिष्ठानलाई विश्वको स्वास्थ्य अनुसन्धान केन्द्र बनाइने

जुम्ला, २२ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई विश्वकै स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको बताउनुभएको छ ।

आज प्रतिष्ठान जुम्लाले गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले प्रतिष्ठानलाई स्वास्थ्य पर्यटन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । “विज्ञान प्रतिष्ठान पश्चिम नेपालको हिमाली क्षेत्रको गौरवको स्वास्थ्य संरचना हो,” उहाँले भन्नुभयो, “यसमा आधुनिक चिकित्साका साथै प्राकृतिक चिकित्सा विकासमा समेत जोड दिन्छौँ ।”

मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकको सरदर आयु बढाउने स्वास्थ्य शिक्षा र सेवा प्रदान गर्ने बहुमुखी योजना निर्माण गरेर अघि बढ्न पदाधिकारी तथा विशेषज्ञ चिकित्सकलाई सुझाउनुभयो । प्रतिष्ठानका विद्यार्थीले कुर्ची भाँच्ने, सिसा फोड्ने र तालाबन्दी गर्ने शिक्षा सिकेको व्यङ्ग्य प्रहार गर्दै उहाँले भन्नुभयो, “प्रतिष्ठान पैसा कमाउने थलो नबनोस् । हिजो जे भयो अब त्यो हुनु हुँदैन ।” यसलाई गलत स्थान बनाइए प्रदेश सरकारले हेरेर नबस्ने उहाँले चेतावनी दिनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गत साउनमा डा गोविन्द केसीको विषयलाई लिएर प्रदेश सरकारलाई अपहरणकारीका रुपमा गलत परिभाषित गरिनु दुर्भाग्य भएको बताउनुभयो ।

“जुन सरकारले यसलाई जन्माउन प्रयास ग¥यो, त्यसैलाई फलामको साङ्लोले रोक लगाइनु निकै दुःखद हो,” कानूमन्त्री भण्डारीले भन्नुभयो, “आगामी दिनमा यस्तो नबनोस् ।” उहाँले अब प्रतिष्ठानले कर्णालीका १० वटै यसअन्तर्गतको सेवा विस्तार गर्ने जनाउनुभयो । ‘कर्णालीमा जाऊ, डाक्टर बनेर आऊ’ भन्ने नारालाई साबित गरेर देखाउने सङ्कल्प पूरा गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.