नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ

काठमाडौं, २९ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाएकी छिन् ।

पाँचौं पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएको थियो ।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन् ।

देउवाको अडानपछि पनि राष्ट्रपतिले केही समय विज्ञप्ति सच्याउन अलमल गरेकी थिइन् ।

पछि गठबन्धनमा रहेका नेताहरुले राष्ट्रपतिसँग कुरा गरेपछि नियुक्तिको व्यहोरा सच्याउन तयार भएको एक नेताले जानकारी दिए ।

राष्ट्रपतिसँगको छलफलमा देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव थिए ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् ।

ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै छन् । उनले सरकारी निवास भोलि मात्रै छोड्ने जनाइएको छ । जनादेशबाट नभई परमादेशबाट आएका प्रधानमन्त्रीको शपथग्रहणमा आफू सहभागी हुन आवश्यक नभएको ओलीले तर्क गरेको एक नेताले जानकारी दिए ।

नवनियुक्त प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्री नियुक्त गरेका छन् । उनीहरू सबैलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.